असोज २६ गते आइतबार सार्वजनिक विदा दिने संघीय सरकारको निर्णय

काठमाडौं, २४ असोज । सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । त्यसका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहमन्त्रीले राखेको उक्त प्रस्तावलाई पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । शनिवार काठमाडौं अन्तराष्ट्रिय विमानस्थलमा आएर उनी आइतबार नै चीन फर्कने कार्यक्रम छ । यो भ्रमणलाई नेपाल सरकारले निकै महत्वका साथ लिएको छ । छिमेकी राष्ट्रका राष्ट्र प्रमुखको भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।

राष्ट्रपति सी २५ गते शनिबार नेपाल आउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन अनौपचारिक सम्मेलन गरेर उनी भारतबाट नेपाल आउने छन् ।

सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपाल सरकारले भव्य तयारी गरेको छ । काठमाडौंका सडकहरु सिंगारिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ ।

यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । सीसँग चीनबाटै पनि उनको सुरक्षार्थ टोली आउने बताइएको छ ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

Loading...