बिदा सकिए पनि भक्तपुरका सरकारी कार्यालय सुनसान

भक्तपु, २४ असोज । सरकारले दिएको दशैको विदा विहिवारदेखि सकिए पनि दिनभर जिल्लाका सरकारी कार्यालय भने सुनसान नै देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमासमेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान देखिएका हुन् ।

दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले कार्यालयहरूमा ४० प्रतिशत कर्मचारी मात्रै हाजिर भएको पाइएको छ भने सेवाग्राही फाट्टफुट्ट मात्रै आएका छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कर्मचारी अत्यन्त न्यून उपस्थिति भए र सेवाग्राही पनि कम आउँदा कार्यालय दिनभरी नै सुनसान देखिएको थियो। यातायात कार्यालय जगातीमा भने केही सेवाग्राही आएपनि आएका सेवाग्राहीको समयमै काम सकिएको र अन्य सेवाग्राही नआएको भन्दै कार्यालय समय भन्दा दुई घण्टा अगावै कार्यालय बन्द भएको थियो।

त्यसैगरी आन्तरिक राजश्व, पशु, स्वास्थ्य, डिभिजन सडक, खानेपानी, घरेलु, शिक्षा लगायतका अधिकांश कार्यालयमा सेवाग्राही नआएको र कर्मचारी पनि न्यून उपस्थिति भएपछि कार्यालय दिनभरी नै सुनसान देखिन्थे।

सेवाग्राही नआएपछि र कर्मचारीको उपस्थिति पनि कम भएपछि अधिकांश सरकारी कार्यालय आज ३ बजे नै बन्द भएका थिए। आफूले पाउने अन्य बिदा कटाएर कर्मचारीले दशैंमा बिदा थप गरेर जाने भएकाले पनि कर्मचारीको उपस्थिति न्यून भएको जिल्लाका अधिकांश सरकारी कार्यालय ३ बजे नै बन्द भएका थिए। खुलेका केही कार्यालयमा पनि कार्यालय सहायक मात्रै थिए।

धेरैजसो कार्यालयमा कार्यालय प्रमुख समेत नआएपछि कतिपय आएका कर्मचारी पनि हाजिर गर्दै निस्किएका थिए। जिल्लाका नगरपालिकामा समेत कर्मचारी र सेवाग्राही कम रहेको पाइएको थियो।

नेपालीहरुको महान चाड बडादशै पूर्णीमासम्मै मनाउने भएको र सरकारले बिदा कटाएकोले पनि कर्मचारी आफ्नो बिदा काटेर पनि बसेका थिए । टाढा घर भएका कर्मचारीले टिका लगाउन अन्यन्त्र पनि जानु पर्ने भएकोले आई पुग्न समय लाग्ने उपत्यका बाहिरका कर्मचारीको भनाई छ ।

Loading...