क्षेत्रीय शान्ति, विश्व समृद्धि र स्थिरताको लागि राष्ट्रपति सीको नेपाल भ्रमण

चीन नेपालको ज्यादै भरपर्दो र दुःखको बेलामा सहयोग पु¥याउने एकदमै आत्मीय मित्र हो ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा परिचित चीनका राष्ट्र प्रमुख धेरै लामो प्रतिक्षापछि नेपाल आउने कार्यक्रम बनेको छ । यो अत्यन्त खुसीको कुरा हो । यो हामी नेपालीको निमित्त मात्र नभएर दक्षिण एशियाकै लागि पनि खुसीको कुरा हो । अहिले चीनले एशियाली शक्तिहरु, एशियाको गौरव र एशियाको गरिमाका साथै एशियाको तागतलाई राम्ररी चिनाएको छ । एक अर्कामा चिनेर आपसी सहकार्य गर्ने नीति लिएर चीन विश्वमा अगाडि बढिरहेको छ । जसले सबैलाई आआफ्नो गन्तव्यमा पुग्न ठूलो सहयोग पु¥याउने छ । यसका लागि हामी एशियालीहरुले नै विशेष ध्यान दिन जरुरी छ ।

केही समय अगाडि चीनमा एशियन सिभिलाइजेशन कन्फेरेन्स भएको थियो । जसमा एशिया, युरोप, अफ्रिका, दक्षिण अफ्रिका लगायत थुप्रै देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यहाँ पनि चीनले सबैसँग आपसी सहकार्यको आफ्नो नीति प्रस्टसँग राखेको थियो । अहिले चीन सरकार र महामहिम राष्ट्रपति सी चिनफिङको ध्यान पनि यसै विषयमा गएको छ । यो कुरा विस्तारै सबै देशहरुले थाहा पाउँदैछन र विस्तारै थाहा पाउनेछन् ।

नेपाल पनि आफ्नो सभ्यता, संस्कृति र सुन्दर प्राकृतिक सम्पदाका दृष्टिले सम्पन्न मुलुक हो । नेपालका धेरै कुराहरु चीनसँग मिल्दछन । हाम्रो प्राचीन समयदेखिको सुमधुर सम्बन्ध रहँदै आएको छ । अहिले करिव २३ वर्षपछि चीनबाट राष्ट्रपति तहमा नेपालमा भ्रमण हुँदैछ । सी चिनफिङ एउटा सम्पन्न देशको नेता मात्रै होइन, निकै राम्रो भिजनरी (दुरदृष्टि भएको) विश्व नेता पनि हो । त्यस्तो एक भिजनरी नेताको यो भ्रमण नेपालका लागि निकै महत्वपूर्ण छ । साथै दुई देशले एक अर्कामा सिक्नका निमित्त पनि यो भ्रमण महत्वपूर्ण अवसर पनि हो । यो अवसरलाई हामीले सदुपयोग गर्नुपर्छ । हामी र विश्वले चीनबाट धेरै कुरा सिक्न जरुरी छ । चीन सरकारले पनि हामीबाट केही कुरा सिक्न सक्छ । हाम्रो पनि आफ्नोपन छ । एकले अर्काको पीडा बुझ्ने, एक अर्काका समस्या समाधान गर्नका निमित्त के गर्ने भन्ने कुरा निक्यौल गर्नुका साथै दुबै देशका राजनीतिक नेतृत्वलाई यस भ्रमणले ठूलो अवसर दिनेछ ।

नेपाली संस्कृति: अतिथिदेवो भवः

अतिथिदेवो भवः नेपाली संस्कृतिको एक उच्चतम मान्यता हो । अतिथिलाई सर्वोच्च स्थानमा राखेर सत्कार गर्ने हाम्रो परम्परा हो । यो हाम्रो संस्कृतिको एक महत्वपूर्ण पक्ष हो । त्यसमा पनि निकै गहनतम सम्बन्ध भएको देशको राष्ट्रप्रमुख आउँदाखेरि उनको आतिथ्यताका निमित्त सरकारले कुनै पनि कमिकमजोरी गर्नुहुँदैन र गरेको पनि छैन । हामीलाई के थाहा छ भने ठूला ठूला चाड पर्वको बेलामा अथवा मान्यजनहरु आउँदा हामी हाम्रो घर आँगन सफा राख्छौ । बाटोघाटो सफा राख्छौ । घरको वातावरण स्वच्छ बनाउँछौ । यही परम्परा र मान्यता अनुसार नै यतिबेला राजधानी काठमाडौंलाई सजाइएको छ । यो नै नेपाली संस्कृति पनि हो । यो संस्कृतिलाई हामीले परम्परादेखि मान्दै आएका छौं । स्वागतका लागि तयार गरिएका संरचना र कार्यले काठमाडौंको मुहार फेर्न पनि सहयोग पु¥याएको छ । त्यो भन्दा पनि बढी अतिथिलाई देवता सरह मानेर सत्कार गर्ने संस्कृति, परम्पराको रुप यतिबेला काठमाडौंमा भइरहेको तयारीमा पनि देखिएको छ । त्यसैले देशलाई उज्यालो बनाउन र घनिष्ट छिमेकी देशका उच्च नेतालाई स्वागत गर्ने दुबै अर्थमा महत्वपूर्ण अवसर यो तयारी भएको छ ।

राष्ट्रपति सीे चिनफिङको भ्रमणको अपेक्षित परिणाम

राष्ट्रपति सी चिनफिङले विश्वमा अहिले एउटा नयाँ दृष्टिकोण दिएका छन् । साना ठूला सबै मुलुकसँग सहकार्य गर्ने र समान फाइदाको लिने दिने र सबैको स्वाभिमानलाई समान महत्व दिने उनको महान धारणा छ । सँगै हिड्ने र सँगसँगै समृद्धि प्राप्त गरेर मात्र विश्वमा शान्ति प्राप्त गर्न सकिन्छ भन्ने दृष्टिकोण अगाडि सारिएको छ । सी चिनफिङको विचारको सारतत्व यही हो । बेल्ट एण्ड रोड इनिसियटिभको फरमुला मार्फत आफ्नो विचार अगाडि बढाएका छन् । सबै देशसँग सहकार्यको यो फरमुला निकै महत्वपूर्ण छ ।

जहाँसम्म नेपालको कुरा गर्दा, यो एक भूपरिवेष्टित मुलुक हो । साथै पूर्वाधारमा राम्रो पहुँच नभएकोले हामी जहिले पनि पीडित भएका छौ । पछिल्लो समय चीनसँग एक महत्वपूर्ण सम्झौता भयो । त्यो भनेको ट्रान्जिट ट्रिटी हो । अहिले उक्त सन्धीलाई पूरा गर्नका निमित्त पूर्वाधारहरु बनाउने तयारीमा हामी छौ । तर, हामी एक्लैले यो सबै गर्न सम्भव छैन । त्यसका लागि पनि सहयोगको आवश्यकता छ । त्यो तयार गर्ने क्रममा हामीले उत्तरतिरका विकट नाकाहरुलाई सहजीकरण गर्नका निमित्त प्रयत्न गरिरहेका छौ । यो प्रयत्नलाई राष्ट्रपति सीको भ्रमणले सहजीकरण गर्न ठूलो सहयोग पुग्नेछ भन्ने मलाई लाग्छ । यस भ्रमणकै बेला केरुङ काठमाडौं रेलमार्ग निर्माणको कुरा पनि चलिरहेको छ । यो रेल मार्गको कुरा आजको कुरा मात्र होइन । चिनियाँ नेता माओत्सेतुङले नै अगाडि सारेको प्रस्ताव हो । नेता माओत्सेतुङले राजा बिरेन्द्रको चीन भ्रमणको समयमा नै त्यहाँको राष्ट्रिय योजना आयोगलाई यसका लागि निर्देशन गर्नुभएको थियो । त्यतिबेला माओले भन्नुभएको थियो कि छिन हाई ९त्तष्लन ज्बष्० र ल्हासा जोड्ने रेल यी दुई क्षेत्रको मात्र होइन काठमाडौको पनि योजना हो । साथै माओले त्यतिबेलै यो रेलमार्ग दक्षिण एशियासँग चीनको व्यापार गर्ने महत्वपूर्ण माध्यम हो र त्यसलाई समयमै तयार पार्नुपर्छ भनेर पनि भन्नुभएको थियो । त्यसैले यो रेलमार्ग चीनका निमित्त पनि दक्षिण एशियासम्म रेल वे लिङ्केज बढाउने महत्वपूर्ण छ । साथै दक्षिण एशियाका लागि पनि चिनियाँ रेलमार्ग निकै महत्वपूर्ण छ । नेपालको लागि त यो लिंकेज यति महत्वपूर्ण छ कि चीन र भारतसँग उक्त रेल सेवा मार्फत हाम्रो सम्बन्ध जोडिँदा नेपालको भू राजनीतिमा नै परिवर्तन आउँछ । साथै हाम्रो भूअर्थतन्त्रले अर्को रुप लिन्छ । यो रेल ल्हासा र केरुङलाई जोड्ने मात्र नभएर बीआरआई परियोजनासँग सम्बन्धित छ । चिनियाँ मित्रहरुले यसलाई नयाँ सिल्क रोडको रुपमा दक्षिण एशिया, मध्य एशिया र युरोपसँग जोड्ने महत्वपू पूर्वाधारको रुपमा लिएका छन् । केरुङ र ल्हासाको रेलसँग काठमाडौंको सम्बन्ध जोडिने बित्तिकै नेपालको सम्बन्ध पनि पूर्वी एशिया, मध्य एशिया, दक्षिण एशिया र पश्चिम एशियासँग पनि जोडिन्छ । भारतसँग व्यापार गर्नका लागि पनि यो रेल मार्ग सहयोगी हुन्छ । त्यसैले यो एउटा त्यो सपना हो, जुन सपना साकार गर्नका निमित्त अहिले चीन सरकार र नेपाल सरकार दुबै लागेका छन । यो रेल सेवाले दक्षिण एशियाको स्वरुपै फेरिने मेरो विश्वास छ । कतिपय मानिसहरु यो रेलसेवा सञ्चालन भएपछि भारतसँगको नेपालको सम्बन्ध बिग्रन्छ भनेर भन्ने गरेको पाइन्छ । तर, त्यो विल्कुलै गलत र असान्दर्भिक कुरा हो । किनकि चीन र भारतको व्यापार निकै ठूलो मात्रामा भइरहेको छ । चीन र भारतबीच राजनीतिक रुपमा केही असमझदारीहरु रहे पनि त्यो सामान्य हो । वास्तवमा व्यापारको लागि रेल सेवा आवश्यक छ । वर्तमान विश्वमा व्यापार राजनीति भन्दा ठूलो कुरा हो । चिनियाँहरुले देखाएको कुरा के हो भने पहिले आर्थिक जग बलियो बनाउ, तब समृद्धि हुन्छ । शान्ति पनि हुन्छ र हामी राम्ररी सक्षम हुन पनि सक्छौ । त्यसको लागि एकले अर्कालाई हस्तक्षेप गर्ने होइन कि समान फाइदाका लागि सहकार्य गर्नुपर्दछ । सहकार्यका लागि पनि सबैले लगानी गरेर काम गर्ने हो भन्ने चिनियाँ प्रस्ताव छ ।

भारतले पनि युरोप, मध्य तथा पश्चिम एशियामा व्यापार गर्नका लागि यही रेल सेवा प्रयोग गर्नुपर्छ । त्यतिबेला नेपाल ट्रान्जिट प्वाइन्टको रुपमा स्थापित हुनेछ । यसलाई हामीले राम्ररी सदुपयोग गर्नुपर्दछ । रेलका साथमा संस्कृति, पर्यटन, अर्थव्यवस्था र चेतना पनि आउँछ । यसले नेपाललाई यस्तो उर्बर भूमी बनाउनेछ र यहाँ विभिन्न सामग्री उत्पादन गरेर विश्वमा पठाउन उत्प्रेरित गर्नेछ ।

समृद्धिको बाटोमा हिडेको नेपाललाई राष्ट्रपति सी चिनफिङको भ्रमण अत्यन्त महत्वपूर्ण छ । किनकि चिनियाँ मित्रहरुले हामी र हाम्रो सामथ्र्यलाई राम्ररी बुझेका छन् । वास्तवमा अरु केही ठूला मुलुकहरु छिमेकीको समुन्नतिमा रिस गर्छन तर चिनियाँहरु भने सबैको समुन्नति र सुख होस भन्ने उद्देश्यलाई आफ्नो परराष्ट्र नीतिको मूल मर्म मानेर अगाडि बढिरहेका छन् । हामीलाई विश्वास छ राष्ट्रपति सीको भ्रमणमा केही महत्वपूर्ण सम्झौताहरु अवश्य हुनेछन् । जलस्रोत, उर्जा लगायतका विषयहरु त छँदैछन ती वाहेक पनि भौतिक कनेक्टिभीटीले सांस्कृतिक, आर्थिक कनेक्टिभिटी बनाउनका निमित्त पूर्वाधारहरु निर्माणका निमित्त महत्वपूर्ण काम हुनेछ भन्ने मलाई विश्वास छ ।

नेपाल र दक्षिण एशियालाई सुमुन्नत बनाउनका लागि यसको गेट खोल्नुपर्छ भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको समेत धारणा हो । यो कुरा माओले पनि भन्नुभएको थियो । त्यही आधारमा यो कनेक्टिभीटी अगाडि बढ्दैछ । यो कनेक्टिभीटी सफल भएको खण्डमा नेपालीहरुले चिनियाँ विकासको प्रतिफल सजिलै पाउन सक्नेछन् । साथै चिनियाँ विकासको मोडेलका बारेमा समेत हामीले सिक्नु जरुरी छ । जसले गर्दा हामी आफै समुन्नतितर्फ अगाडि बढ्न सक्छौ । साथै हामीले उत्तर र दक्षिण कसैलाई पनि वेफाइदा हुने काम गर्नुहुँदैन । हामीहरुले हाम्रो फाइदा उनीहरुको समेत संवेदनशीलता बुझेर गर्नुपर्छ । त्यो कुरामा अहिलेको नेपालको नेतृत्व पनि स्पष्ट छ र सचेत पनि छ । संविधान निर्माणताका दक्षिणी मित्र भारतले नेपाल माथि गरेको व्यवहार हामीले विर्सेका छैनौ । तर, दक्षिणी मित्रसँग पनि हाम्रो सम्बन्ध अहिले सुमधुर हुँदै जाँदैछ । उत्तरी छिमेकी चीनसँग त हाम्रो सम्बन्ध अत्यन्तै प्रगाढ छ । राष्ट्रपति सी को भ्रमणपछि यो सम्बन्ध अझै प्रगाढ हुनेछ । त्यसैले यसलाई ऐतिहासिक भ्रमण भनिएको हो ।

बीआरआई र राष्ट्रपति सीको नेपाल भ्रमण

बीआरआई परियोजना भनेको विश्वका साना ठूला सबै मित्रहरुसँग समानताका आधारमा सहकार्य गर्ने परियोजना हो । अहिलेसम्म संसारका यस्ता परियोजनाका दुई किसिमका मोडल देखा परेका छन । एउटा आफूले मात्र कमाउने अर्कालाई केही पनि हुन नदिने । अर्को आपसी सहकार्य सहअस्तित्वका आधारमा गर्ने । पहिलो मोडेलले आफ्नो प्रभुत्व मात्र लाद्ने काम गर्छ । त्यसले शान्ति हुँदो रहेनछ । समृद्धि पनि हुँदो रहनेछ । यसले एउटालाई भोको र अर्कोलाई टन्न पार्दो रहेछ । जसले छिमेकी छिमेकमा शान्ति पनि कहिल्यै प्राप्त हुँदो रहेनछ । यो नै चिनियाँ नेतृत्वले बुझेको कुरा हो ।

साँच्चिकै विश्व शान्ति कायम गर्नुछ भने क्षेत्रीय शान्ति कायम गर्नुपर्छ । समृद्धि प्राप्त गर्नुछ भने सबैले सहकार्य गरेर आआफ्नो किसिमले हिडनुपर्छ भन्ने चिनियाँ बुझाई हो । नेपालमा विद्यमान राजनीतिक तनावले हामीले समयमै बीआरआईप्रति आफ्नो प्रष्ट दृष्टिकोण बनाउन सकेनौ । हामीले आफ्नो दृष्टिकोण बनाउन ढिलो ग¥यौ । ढिलै भए पनि नेपालले बीआरआईमा सहभागिता जनायो । अहिले परिस्थिति राम्रो भएको छ । राजनीतिक स्थिरता छ । यो अनुकूल परिस्थितिलाई सदुपयोग गर्दै स्पष्ट दृष्टिकोण ल्याउन आवश्यक छ । मुलुकले कसरी फाइदा लिने भन्ने बारेमा सोच्नु पनि अत्यावश्यक छ । साथै नेपालले बीआरआई अन्तर्गत यी योजनाहरु गर्छौ भनेर बुझाईसकेको पनि छ । ती योजनाहरु मध्ये प्राथमिकताका आधारमा चीन सरकारले बीआरआईकै परियोजना मार्फत ती योजनाहरु अगाडि बढाउनेछ ।

बीआरआई परियोजना र अन्य परियोजना

नेपालमा चिनियाँ परियोजना अन्तर्गत बीपी कोइराला क्यान्सर अस्पताल दुई वर्षसम्म पूरा हुनुपर्ने थियो तर चिनियाँ पक्ष यति सचेत भयो कि उसले १८ महिनामै त्यो परियोजना सम्पन्न ग¥यो । चीनका हरेक परियोजनाहरु समयमै सम्पन्न हुन्छन् र तिनको गुणस्तर पनि परिपक्व छ । काठमाडौंमै हेर्दा पनि दरवार हाइस्कूलको निर्माण चीन सरकारले निकै तीब्र गतिमा अगाडि बढाएको छ । त्यही दरवार हाइ स्कूलकै छेउमा रानीपोखरी अहिले पनि अलपत्र छ । यसरी हेर्दा चिनियाँ परियोजना निश्चित समयमै सम्पन्न भएका प्रशस्त उदाहरणहरु छन् । त्यसैले बीआरआईका बारेमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन ।

छिनहाईबाट ल्हासासम्म रेल मार्ग निर्माण गर्न असम्भव छ भनेर पश्चिमी विज्ञहरुले भनेका थिए । तर, चीनले आफ्नै खालको ज्ञान, सीप र प्रविधि प्रयोग गरेर यो रेल मार्ग सफलतापूर्वक निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । त्यसले चिनियाँ सीप र प्रविधिलाई विश्वभर परिचित पनि गरायो । यसको विश्वसनीयता पनि बढ्दै गएको छ ।

अहिले पनि नेपाल भारत लगायतका मुलुकमा यस्ता केही मान्छे पनि छन्, जसले बीआरआई परियोजनालाई चीनको महत्वाकांक्षी योजना मान्दै साना मुलुकहरुलाई ऋणै ऋणको भारी बोकाएर खत्तम बनाउँछ भन्छन । मेरो यसमा के भनाइ छ भने बीआरआई अन्तर्गत पनि एशियाली इन्फ्रास्ट्रक्चर बैंक छ र अर्कोतिर विश्व बैंक र एशियाली विकास बैंक छन् । एकपटक यी दुई पक्षलाई राम्ररी नियालौ । उनीहरुका लगानी कति शर्तपूर्ण छन ? तर, बीआरआईको लगानीमा कहाँ शर्त छ ? विश्व बैंक र एडिबीको ब्याज र बीआरआईको ब्याज तुलना गरेर पनि हेर्न सकिन्छ । धेरै ठूलो अन्तर छ । त्यसैले बीआरआईका बारेमा लगाइएका यस्ता आरोपहरु फजुल हुन । ती आरोपले बीआरआईलाई बदनाम मात्र गर्न खोजेका छन् । बीआरआई सारा संसारका मुलुकहरुबीचको एकता, सहकार्य, विकास र विश्व शान्तिका लागि महत्वपूर्ण मार्ग हो । राष्ट्रपति सीको भ्रमणले अब सबैलाई बीआरआईप्रति सकारात्मक दृष्टिकोण राख्न र अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने मलाई लाग्दछ । सकारात्मक दृष्टिकोणले हेर्ने हो र कार्यान्वयन पक्षमा मात्र जोड दिने हो भने यो बीआरआईबाट नेपालको कायापलट हुनेछ । त्यसैले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण महत्वपूर्ण अवसर हो ।

(लेखक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति हुनुहन्छ । विश्व भाषा क्याम्पसका पूर्व प्रमुख समेत हुनुभएका उहाँले आधा दर्जन भन्दा बढी पुस्तक लेख्नुभएको छ । उहाँले नेपाल र चीनको सम्बन्धका बारेमा पनि गहिरो अध्ययन गर्नुभएको छ ।)

Loading...