पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’, सात पर्यटकको भव्य बिदाइ

भोजपुर, २२ असोज । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आएका पर्यटकले भोजपुरको ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन वटाभित्र पर्ने प्रतिक्रिया दिएका छन् । उनीहरुले नेपालको हालसम्म ४३ वटा पर्यटकीय क्षेत्रको भ्रमण गरेकामा यो मुन्दुम ट्रेल उत्कृष्ट तीनभित्र परेको प्रतिक्रिया दिएका हुन् ।

नेपाल सरकारको उत्कृष्ट १०० वटा पर्यटकीय क्षेत्रको सूचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि पहिलोपटक आएका सात अमेरिकी पर्यटकलाई बिदाइसमेत गरिएको छ । दश दिनसम्म ट्रेकिङमा गएका उनीहरुले मुन्दुम ट्रेलभित्र पर्ने मैयुङडाँडा, टेम्केडाँडा, हाँसपोखरी लगायतको भ्रमण गरेका छन् । मौसम खराब भएका कारण सिलिचुङसम्म भने पुग्न नसकेको टेम्के मयुङ गाउँपालिकाले जनाएको छ ।

बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुवराज राईले प्रतिकूल मौसमको सामना गर्दैै आफ्नो गाउँपालिका क्षेत्रको पर्यटकीय स्थलको भ्रमण गरेकामा उनीहरुलाई धन्यवाद दिनुभएको छ । उनले मुन्दुम ट्रेलको आफ्नो ठाउँमा प्रचारप्रसार गरिदिनसमेत आग्रह गरे ।

अध्यक्ष राईले भने, “प्रतिकूल मौसमको सामना गर्दै हाम्रो पर्यटकीय क्षेत्रको भ्रमण गरिदिनु भएकामा गाउँपालिका आभार प्रकट गर्दछ, यस पदमार्गलाई सबैमाझ चिनाउन भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्दछु ।” जिल्लामा पहिलोपटक आएका पर्यटकलाई भव्यरूपमा स्वागतसमेत गरिएको थियो ।

Loading...