चिनियाँ राष्ट्रपतिका लागि यसरी सजाइदैछ राजधानी (फोटो फिचर)

काठमाडौ, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले व्यापक तयारी बढाएको छ । करिव २३ वर्षपछि हुन लागेको राष्ट्रपति तहको भ्रमणलाई नेपालले निकै महत्व दिएको छ ।

छिमेकी देशका राष्ट्रपतिको यो भ्रमणलाई सफल बनाउन र स्मरण योग्य बनाउन सरकारले सहरमा उच्च सुरक्षा व्यवस्था गर्नुका साथै सहरलाई सुन्दर बनाउन पनि लागेको छ । सी को स्वागतका लागि काठमाडौं रातारात सिंगारिँदै छ। सडकका खाल्डाखुल्डी पुरिएका छन् भने रंगरोगन पनि जारी छ। उपत्यकाका सडक किनारा हरियाली बनाउने र सफाई अभियान चलिरहेको छ।

काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगर र भक्तपुर नगरपालिकाले पनि तयारी थालेका छन् । यतिबेला भ्रमणका अवसरमा प्रयोग हुनसक्ने सम्भावित रुटका सडकमा महानगरपालिकाकाले सडक सफा गर्ने, रंग रोगन गर्ने र आकर्षक फ्लेक्सहरु राख्ने काम तीब्र रुपमा गरिरहेको छ ।

एकदिने नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम पनि गरिरहेको छ भने । अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनको लागि व्यवस्था गरिएको होटल सोल्टी क्राउन प्लाजामा पुग्ने बाटोमा रंगरोगन गर्ने र ठाउँ ठाउँमा सजाउने काम भइरहेका छन् ।

एअरपोर्ट नजिकै रहेको तीनकुनेको खाली जग्गालाई अहिले पूर्णरुपमा निर्मित पार्क बनाउन लागिएको छ । त्यहाँ खाली ठाउँलाइ सजाएर त्यहाँ फूल र हरिया झाडी बनाउने काम जारी भइरहेको छ। यो ठाउँलाइ पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको थियो । त्यो अहिले रातारात हरियाली छाएको छ। तिनकुनेको सडक छेउछाउमा पूरै हरिया विरुवा रोपिएका छन् । त्यहाँ दुबो लगाएर हरियो बनाइएको छ । चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट ओर्लिएर अगाडि बढ्दा यो हरित पार्कले स्वागत गर्ने बताइएको छ।

त्यसैगरी माइतीघरमा रहेको बगैचा पनि सजाइएको छ । त्यस क्षेत्रको सडकको बीचमा रहेको बगैँच पनि गोडमेल गरिएको छ भने खाली रहेका ठाउँमा फलफूलका विरुवा रोपिएको छ।

सडक र सडकपेटीमा पेन्टिङ गरेर चिटिक्क पार्ने काम धमाधम भइरहेको छ। यस्तै सडक पेटीमा नेपाल चिनाउने फ्लेक्स बोर्डले सजाउने काम भइरहेको छ।

 

Loading...