मलिन अनुहारमा बसेका महरालाई प्रहरीले यसरी पक्राउ गर्यो

काठमाडौं, १९ असोज । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

आजै दिउसो काठमाडौ जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आधारमा प्रहरी अहिलेसम्म उनी बस्दै आएको सरकारी निवास बालुवाटारमा पुगेको थियो ।

महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । पक्राउ परेका महरालाई सिंहदरबार वृत्तमा राखिने भएको छ ।

महरालाई पक्राउ गर्न प्रहरी टोली अपराह्न पौने ५ बजेतिर बा १ झ ७८६२ नम्बरको गाडी लिएर बालुवाटारस्थित सभामुख निवास पुगेको थियो । सुरुमा दुई जना प्रहरी मात्र सभामुख निवासमा पुगेका थिए । उनीहरुले सभामुख निवासको ढोका ढक्ढकाए । बल्ल बल्ल खुलेको गेटबाट भित्र छिरे उनीहरु । उनीहरुले नै त्यहाँ पुगेर आफूहरु महरालाई पक्राउ गर्न आएको जानकारी गराए । उनीहरु एक घन्टा त्यहाँ अलमल गरेपछि प्रहरीको अर्को टोली त्यहाँ पुग्यो ।

महरालाई पक्राउ गर्न प्रहरी बालुवाटारस्थित सभामुख निवास पुग्दा सुरुमा उनका सहयोगीले उनी त्यहाँ नरहेको बताएका थिए । तर, सबै कुरा एकिन गरेर गएको प्रहरीले निवास भित्र छिरेरै छाड्यो । प्रहरी भित्र पस्दा उनी आफ्नै कोठामा मलिन अनुहारमा बसेकाे भेटिएको पक्राउ टोलीमा गएका एक प्रहरीले जानकारी दिए ।

पक्राउ गरेपछि महरालाई प्रहरीले भ्यानमा हालेर लिन खोजेको थियो । तर, महराले भ्यानमा जान मानेनन् । उनले अाफ्नै गाडीमा जान्छु भन्ने आग्रह गरे । भ्यानमा जान नमानेपछि प्रहरीले एउटा अर्को कारको पनि व्यवस्था गरेको थियो । त्यसमा पनि उनी जान नमानेपछि महरालाई उनी आफैले प्रयोग गर्दै आएको बा १८ च ४०० नम्बरको निजी गाडीमा लान प्रहरी सहमत भयाे । 

दिउसो काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न आदेश दिएपछि महरा पक्षधर केही कानुन व्यवसायीले उनलाई संसदले नै उनको संसद पद निलम्बनको प्रक्रिया पूरा गर्नुपर्ने दावी गरेका थिए । संसद पद निलम्बनको प्रक्रिया पूरा नगरी महरालाई पक्राउ गर्न नमिल्ने उनीहरुको दावी थियो । तर, प्रहरीले त्यसलाई पर्खेन । 

गत आइतबार राति महरा पीडित महिला रोशनी शाहीको कोठामा पुगेर बलात्कार प्रयास गरेको आरोप लागेको छ । उक्त आरोप लगाउने रोशनी शाहीले उनी विरुद्ध शुक्रबार किटान जाहेरी दिएकी छन ।  रोशनी संसद् सचिवालयमै कार्यरत नर्स हुन् । उनले सोमवार महरामाथि आरोप लगाएर मिडियामा बोले पनि त्यसपछि भने त्यसको खण्डन गर्न गरेकी थिइन । केही दिन उनले आफैले बोलेका कुरा खण्डन गर्दै महरा आफ्नो बाबुसमान भएको र उनी आफ्नो कोठामै नआएको बताएकी थिइन । तर, सीसीटीभी फुटेज, मोवाइल ट्रयाकिङ सबै हेर्दा उनी रोशनीको कोठामा पुगेको ठहर भयो । त्यसपछि रोशनीले शुक्रबार एकाएक किटानी जाहेरी दिएकी हुन् । 

महरामाथि प्रश्न उठेपछि उनकाे दल नेकपाले उनलाइ राजिनामा दिन निर्देशन गरेकाे थियाे । त्यसपछि महराले असोज १४ गते मंगलबार नै सभामुख पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजिनामा स्वीकृत भइसकेको छ।

पक्राउ परेसँगै उनको संसद पद पनि स्वत: निलम्वनमा परेको छ। नेपालको इतिहासमा वहालवाला उच्चपदस्थ व्यक्ति गैरराजनीतिक कारणबाट पक्राउ परेको यो पहिलो घटना हो । सरकारी निवासबाटै उच्चपदस्थ व्यक्ति गैरराजनीतिक कारणमा पक्राउ परेको पनि यो पहिलो घटना हो।

याे पनि पढ्नुहाेस

बाबुरामले यसरी खोतले महराको विगत, युद्धकालमै यस्तो गर्थे महरा

 

नेताहरुबाट पटक पटक दुर्व्यवहार भाेगेकी एक सहिद पत्नीकाे डायरी:

यस्तासम्म छन जनयुद्धकालीन माओवादी नेताहरुका यौन दुर्व्यवहारका कथा

Loading...