पहिरोपीडितलाई दशैंको उपहार : घर

म्याग्दी, १९ असोज । प्रवासीहरुको सहयोगमा जलजला गाउँपालिकाका पहिरोपीडितहरुको घर पुनःनिर्माण भएको छ । अन्तरराष्ट्रिय पर्वत समाजको सहयोगमा पुनःनिर्माण भएका तीन वटा घर शनिबार एक समारोहका बीच पीडितलाई हस्तान्तरण गरिएको छ ।

वडा नं ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा नं ७ धाइरिङका भीमलाल आचार्यको घर निर्माणमा समाजले सहयोग गरेको हो । समाजका अध्यक्ष पुरन गिरी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, उपाध्यक्ष सीमा गर्बुजा पुनले घरको शिलालेख अनावरण गरेर घर हस्तान्तरण गरेका थिए ।

समाजले सिमेन्ट, जस्तापाता, रड, ब्लक, बालुवालगायत निर्माण सामग्री खरीद गर्न सहयोग गरेको हो । नौ लाख सहयोग गर्ने सम्झौता भएकामा १४ लाख १९ हजार ४३५ खर्च भएको वडाध्यक्ष हरिविकास जिसीले बताए ।

समाजले प्रतिपरिवार थप एक÷एक लाख सहयोग उपलब्ध गराउने जनाएको छ । निर्माण सामग्री पाएपछि थप लगानी गरेर घर बनाएको पहिरोपीडित वुद्धि परियारले बताउनुभयो । दुईकोठे भवन र शौचालयसहितको घर बनाइएको हो ।

यसअघि पोखराको असल छिमेकी नेपालको रु ७९ लाख २८ हजार सहयोगमा बेरनेतामा १७, लस्तिमा सात र मिलनचोकमा एक वडा घर पुनःनिर्माण गरेर हस्तान्तरण भइसकेको छ । विसं २०७५ साउन १ गतेको बाढीपहिरोले २५ घरमा क्षति पुगेको थियो भने एक जनाको ज्यान गएको थियो । घर पुनःनिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकोमा पीडितहरुले खुशी व्यक्त गरेका छन् । केही पीडित त्रिपालको टहरा बनाएर बस्दै आएका थिए ।

Loading...