जुन पढ्दा आफ्नो मातृभूमीप्रति गर्वले छाती फुल्छ, देवकोटाको बहुचर्चित निबन्धः के नेपाल सानो छ ?

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग गरेका छन् । निबन्धगत सौन्दर्य र भावलाई सघन बनाउन यस्ता नामहरुले निकै सहयोग पु¥याएको पाइन्छ ।

यस्ताे छ महाकवि देवकाेटाकाे बहुचर्चित निबन्ध के नेपाल सानाे छ: 

नेपाल !

सुन्दर, शान्त विशाल !

मैले आफैंले एक दिन लेखेथेँ, ‘विशाल’ को भावना कसरी आयो, म भन्न सक्तिनँ ।

भूमण्डका नक्शा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ । यो सानो बूँद महासागरमा त्यसै बिलाए जस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो राजधानी जस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा । पसिना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ ।

आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनको पूजारी हो । आजसम्म लुकामारी खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैं विश्व छ; दूर छ तर दूरताको दिव्य जादू । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ ।

हीरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ । सानो भनेको के, ठूलो भनेको के ? यो दुनियाँमा तारालाई ठूलो भनौं भने अनन्त आकाश जूनकरीरी जस्ता देखिन्छन् । बालुवाका दानालाई सानो भनौं भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादूगरी दर्शाइरहेछन् । संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन्- एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागे जस्तो लाग्छ । माटोको परिमाणले खेत ठूलो म गन्दिनँ: त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश म्युजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरुको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लाग्छ ।

‘धत्, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन्’ भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ । मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीप हेर्न मन लाग्छ । अंग्रेजी लवजहरुउपर सूर्य नअस्ताऊन् तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो ! को हो !’ को सौन्दर्य-संसारमा नवजाग्रत् प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । शेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरुभन्दा मलाई नेपाल पहाडको सरल भाव-वाहिनी व्याकरणविरोधी हृदषनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ ।

‘वाल्ज’ सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल झैं कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखा पर्ने गाइनेको ‘रानीवनैमा’ सुन्न चाहन्छु । विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरुको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो झोक्कामा रवाफ देखाउन चाहन्छौं, यद्यपि हामीलाई प्रकृतिले यस्तो संगीत-सरल मुख र नासिका दिएको छ, जो अरुको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लवज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङमिरिङ गर्दछ, अप्राकृतिक नक्कलीपनमा रवाफ राख्दन खोज्नाका प्रवृत्तिले हामी अरु स्कूले ठिटाको ‘कम्ती छु’ भन्ने भाव पोषण गर्दछौं भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन्, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरुको प्राकृतिक भाषा, झर्नाहरु घुसेका मीठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरु ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र बोल्ने अक्षरहरु । मेरो भाषा ज्यादा नफैलेको होस्, तर मेरो इन्द्राणीको झर्ना यही हो ।

सानो, मीठो, शान्त, सुगन्धी, अनुपम- बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरु गीत गाउँदछन्, यहाँ कति सावित्रीहरु छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ । नालाहरुका प्राकृतिक वेद बुझ्ने आजकल कति हृदय होलान् ! यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन् ? के साना चराहरु हृदयाकाशमा अमर वेलीकुञ्ज बोल्दैनन् ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरु जो मभित्र खँदिलो भइरहेछन्, के ती साना छन् ?

सच्चा आर्यभावना जसलाई भनिन्छ, त्यस्ता मानवभावनाहरु उत्पादन गर्न सक्ने र हरहमेशा हृदयमा देवसंस्कार जागरण गर्ने वाग्मती तुहिनतरल निर्मल शिशुतरंगहरुको मनोहर कलकले पवित्र शैशवास्थाको शान्त तरल भाव-प्रवाहमा खेलाएर राख्ने भूमि यदि संसारमा कुनै छ भने नेपाल छ । किनकि यहाँ कारखानाको धूवाँले दूषित वायुमण्डलमा सभ्य माकुराको जालो जस्ता तरंगहरु खेल्न पाउँदैनन् । यहाँ प्रशस्त शैशव नवीन खोज र त्यसको जादू नेपाली हृदय नेपाली आबहवाको र खानपिनका असरले गर्दा सच्चा आर्यभावहरुको स्पन्दन र आर्यसपनाले सजीव छ र अरु देशमा मैले कहिले पनि भावुक नैर्मल्य र सरलता पाउन सकिनँ । यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृष्टिले हेर्दछन्; सभ्यमानी देशहरुमा मनुष्य मनुष्यलाई हिंस्रक जन्तुको दृष्टिले हिंस्रक जन्तुलाई हेरे झैं हेर्दछ । जो नेपाली होइन र नक्कलपन चाहन्छ, उसलाई सरलता राम्रो लाग्दैन, पहाडका शिशुहरु सन्तोष अनुभव गर्दछन्, मैदानका ताता मगजहरु खालि असन्तोषमा उम्लिरहेछन् । जहाँ नेपाली नजर देवता देख्तछ, उहाँ अरुको नजर ढुङ्गो देख्तछ; प्रकृतिमा ईश्वरलीला देखेर स्वदेशी हृदय गद्गदाउँछ, त्यहाँ विदेशी खालि विज्ञानको अँध्यारो भुलभुलैयाभित्र पस्तछ । यहाँ ईश्वरका झल्काझल्की जताततै छरिएका छन्, ज्ञान विवेकको अँधेरीमा पाइन्न । विज्ञानभन्दा ज्ञान मूल्यवान् छ, मान्छे जडमा अन्धयन्त्र लगाएर अन्धो विवेकले बोक्रे नियम पत्ता लगाउनमा आफ्नो गौरव सम्झँदैन, अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ, तर हाइ ! हाइ ! नेपाली हृदय ! तँभन्दा सुन्दर, शान्त सजीव कुरा संसारमा के होला ?

म त्यहाँ सब चिज पाउँछु, जहाँ जीव पाएथेँ, उहाँ मेरो आत्मा जागरित भएर मानवजीवनको जादूका निमित्त आँखा खोलेर उठ्यो । म त्यहीँ मानवसंसारको सम्पूर्णता देख्दछु, म केही सौन्दर्यको चिज देख्तिनँ, जो म नेपाल संसारमा पाउन्नँ । यो हिमालयको पवित्र जादू भने नेपाली माटोको मूर्ति जो मै हुँ- जो स्वर्गको झिल्काले घिच्किएर जीवन भन्ने ज्योतिले सजीव भएर जागेथ्यो- यो मनुष्यलाई नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरुको सूक्ष्म प्रतिविम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुव प्रदेशको नमूना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरुको नमूना यही नजरसामुन्ने छ । यहीँ सब आबहवा पाइन्छन्, यहीँ छन् बेबिलोनका ह्याङ्गिङ गार्डेन्स- झूलन बाग, यहीँ छन् तीन सय नायगरा फल्स, चीनको पर्खाल सात आश्चर्यमा गन्नेले यी नेपाली किनारका महान् पर्खालमा चमत्कार नदेख्नु नेपाली नहुनुको अन्धता हो । चाँदीको झल्झलाउँदो गौरीशंकर महल नजरसामुन्ने नै छँदै छ । यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यहीँ दिनभरिभरि र मानव आत्मा यहीँ वरिपरि, आकाशको अन्ततामा विशाल नक्षत्रहरु यसकै अगाडि जूनकीरी झैं नाचिरहेका छैनन् ? तब म फेरि दोहोर्यााउँछु- यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ?

मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आँखालाई शीतलता केही पाइन्न; जता हेर्यो उस्तै । कतै नीचा कलात्मक चुनाउ, चित्रात्मक रेखाहरु, रंग र छाया र फाहरु, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै हर्षले उम्लिएर चुलिँदै-चुलिँदै स्वर्ग छोएर टुप्पामा सुनौला मुस्कुराहट लिएर हाँसिरहेकी, पाटा, छविछाया वनको मिर्मिरे मधुर नीलिमा, यो मिठास र मोहनी मैदानमा पाइन्न । मैदान बोधो छ एकनासे लाटो जस्तो, मैदान चित्रकारी हुन सक्तैन, तस्बिरको भुइँ जस्तो हुन्छ, जसबाट सच्चा तस्बिर झिकिदिएको छ, तर पहाडी देशको दृश्यमा विभिन्नताको माधुरी छ, यहाँका रंग गाढा र रसिला छन्, यहाँ सूचनात्मकता छ, जो कविता र संगीतको मुटु हो, यहाँ जीवन एकोहोरो गाढा सडक जस्तो देखिन्न । यहाँ औपन्यासिकता छ, कतै उच्चाइ, कतै नीचाइ, चढ्नाको जादू, हेर्नाको मोहनी, सुन्नाको माधुर्य । भारत मैदान पहाडको माटोले उब्जनीको शेखीसम्म गर्दछ, तर रित्तो पट बिछ्याए जस्तो मात्र छ, यहाँ हरएक पटकमा सच्चा चित्रकारी छ । एक पहाडका कुनामा बसेर हेर्नु, दुई-तीनतर्फ दृष्टि दिँदा, उही ठाउँबाट दुई-तीन संसार देखिन्छन् । म कहिले हेर्दाहेर्दै देखिरहेछु, एकै पहाडमा चार किसिमका चित्रहरु छाया, घाम, सिमसिमे पानी र कुहिरो ।

जुन पृथ्वी यस्ती शस्यशालिनी छन्, जसमा यस्ता सौन्दर्यका विभिन्नताहरु रंगदार छन्, जहाँ एक पहाड एउटा सजीव दुनियाँ छ, चरा, मृग र बाघहरुले परिपूर्ण संसार, जसलाई हेर्दा मानवमुटु विचित्र त्रासले ढक्क फुल्दछ, जहाँ ढुङ्गामा चाँदीजिभ्रा छन्, झ्याउका मोती छरिएका छन्, जहाँ नालामा दिव्य भाषण, जहाँ पत्रहरु सजीव दुनियाँका हलचल झैं हमेशा बोलिरहेछन्, जहाँ प्रकृति रङ्ग-रङ्गका दृश्यचित्र रची-रची रङ्ग रोशनी परेका कुशलता प्रदर्शन गरिरहेकी छन्, जहाँ लहराहरु राष्ट्रिय झण्डा झैं प्राकृतिक पर्खालमा फरफराइरहेछन्, अनेकौं फूलहरुले सुशोभित बनेर जहाँ सर्वोच्च हिमालय शासन गरिरहेछ, के त्यहाँका मनुष्यका कल्पनामा बालरेखा चित्र र कार्यहरु बनिरहेका होओइनन् ?

मलाई किन-किन यस्तो लाग्छ कि हिमालयको विशाल उच्चाइको नजिक रहेको जति तिनको गौरव र तिनको उच्चतासँग भित्र-भित्र गाँसिएको हुन्छ, शस्याढ्य भूमिका पुत्रहरुका मगजमा उब्जनी-प्रतिभा हुन्छ र उनका कल्पनाचित्रहरु विपिनप्रचुर हुन्छन्, ज्यादाजसो कविहरु फूलबारीको नजिक जन्मन्छन्, महापुरुषहरु पहाडको नजिक । दूधमुखे शावकहरुका चेहराहरुले मान्छे धेरैजसो सनधु बन्छन्, बाघ पाल्ने वनका नजिक वीरका झोलुङ्गालाई प्रकृतिमाताले हल्लाइरहेकी हुन्छिन्, धेरै चराहरु बोल्दो देशसँग म कविताको सम्बन्ध देख्तछु, वनका गम्भीर गोधूलिमा मलाई विवेकको अँधेरी र ज्ञानको पूर्ण उज्यालोको दोसाँधमा रहने भावनाहरु व्यक्त हुँदै आउँदछन् । म नेपालमा हुँदा वनकालीमा आनन्द पाउन सक्तछु, तर कलकत्ता जाँदा बिर्सन्छु । पहाड र गानाको नित्य सम्बन्ध छ, जस्तो वाक् र अर्थको । स्वर्ग बर्सन्छ त्यहीँ, पहाडी अविरल झरझरको संगीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि संघर्षविकृत मानवहृदयहरुका प्राथमिक सुर मिलाउने प्रभावहरु त्यहाँ पाइन्छन् । यी पातहरु सब हरिया भाव बन्दै छन्, यी सरसर हृदयमा दगुर्दै छन् ।

तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरुको नीलो रंगमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरुको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्यूँझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब मलाई विशालको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, ‘आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्योह विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।’

जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चिज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिँदो रहेछ- जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरु थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्त दिन्थेँ- ‘नेपाल’, मृत्यु स्वर्गबाट ओर्लँदा ‘तँ के चाहन्छस् ?’ को प्रश्नलाई पनि म प्रत्युत्त दिन्थेँ, ‘नेपालको भलाइ !’ अरु मुक्ति खोजून, स्वर्गपछि दौडून्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्यााउन सक्तछ । अरुका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।

विदेश भनेको सपना हो; एउटा कता-कताको कथा हो; नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो; जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता ! कति थोरै नेपालवासी सम्झँदा हुन् कि यो नेपाली तारामण्डले अर्द्धगोलाबाहिर कुनै दुनियाँ छ ? वास्तवमा साधारण मनुष्यका निमित्त शिरमाथिको आकाशगोलाभन्दा ठूलो चिज केही हुँदैन; र उसले सम्झँदैन कि यो खलि विशालको एक अल्प खण्ड हो । ‘पूर्णात् पूर्णमिदं’ भने जस्तै मलाई यसबाहिर अर्को क्षितिज भन्ने बुझ्नमा नै के फाइदा ? सम्पूर्ण अनन्त विश्व देख्ने नजरले सूर्यलाई कस्तो सानो सेतो कनिको भन्दो होला, तर पृथ्वीवासीलाई सूर्य सेतो रापको जीवनदाता भगवान् नै ठहरिन्छन् । मेरो स्वदेश नै मेरो विश्व हो; विपना हो; मेरो सत्य हो; एउटै खँदिलो अस्तित्व हो ।

जब म विदेशमा हुन्छु, तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु; जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु । स्वदेशप्रेम संकुचित गुण हो भन्ने लेखकहरुले आजकालको साङ्ग्रोपनादेखि वाक्क भएर कलम लिएका हुन् । तर, ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु विश्वसिद्धान्ती लेखक र कविहरु भुल्दछन् कि विश्वप्रेम भनेको चिज स्वदेशमै विकासिन्छ; र जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम राख्न सक्तैन, त्यसले विश्वप्रेम राख्छ भन्नु ताती गर्न सिक्नुअगाडि दगुर्न जान्ने हुनु मात्रै हो, बालुवामाथि घर बनाउनु भनेको त्यही हो । मेरा सपना पनि नेपालीपनको ग्राह्य गुण छाडेर उड्न खोजेर खोजे भने नबर्सिने बादलभन्दा बेकम्मा हुन्छन् । सजीव अनुभवहरुको कलात्मक प्रकाशन साहित्य हो भने जो सच्चा नेपाली छैन, त्यसले नेपाली साहित्य लेख्न सक्तैन । नेपालको हरएक दृश्य र अनुभूत वस्तु मभित्र मिलान लिएर विचार, भाव र सम्झनाका स्वरुपमा अनेक क्रियाहरुद्वारा आत्मप्रकाशन लिइरहेछन् । सार्वजनिक विश्वसत्यात्मक जातिकल्याणकारी तत्त्वहरुका सम्बन्धको आधारमा म लेख्तिनँ; लेख्ने नेपाल हो, म बोल्दिनँ; बोल्ने नेपाल हो, मेरा विचार होइनन्; नेपालका अनुभूतिगम्य दृश्य र श्रव्य सामग्रीका प्रभावहरु हुन् खालि मभित्रको अमर तत्त्व । यी सामग्रीहरुद्वारा नवीन-नवीन झल्का र सन्देश पाउँदै, आफ्नो सेवाको मार्गमा चलिरहन्छु ।

Loading...