राष्ट्र शान्तिका लागि निराहार व्रत

चितवन, १७ असोज । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहेकी छिन् ।

मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा झूल लगाइएको छ । झूलभित्र वडा नं ९ शरदपुरकी ४० वर्षीया विष्णु ढकाल दशैँको नवरात्रि शुरु भएदेखि नै यसरी बसिरहेकी छिन् । उनलाई कुर्न र रेखदेख गर्नका लागि श्रीमान् कृष्ण ढकाल बसिरहेका छन् ।

यही असोज १२ गते घटस्थापनाका दिनदेखि उनी सो मन्दिरमा आएर निराहार देवीको व्रत बसेकी हुन् । श्रीमान् कृष्णका अनुसार हिन्दू धर्मको रक्षा र राष्ट्र शान्तिका लागि उनी यसरी निराहार व्रत बसेकी हुन् । यसबाट दैवी शक्ति प्राप्त हुने उनको विश्वास छ । पहिलादेखि नै धर्ममा विश्वास गर्नुहुने विष्णुले विगत केही वर्षयता हस्तरेखाबाट भविष्य बताउँदै आएकी उनका श्रीमान् कृष्णले जानकारी दिए ।

सोही कार्यका सिलसिलामा विगत पाँच वर्षदेखि उहाँमा निराहार व्रत बसेर आफ्नो हात र छातीमा उमारेका जमरा नवमीका दिन देवी मन्दिरमा चढाउने इच्छा थियो । सोही इच्छाअनुसार यस वर्ष उनले निराहार व्रत बस्नुभएको कृष्णले जानकारी दिए । यसरी उमारिएको जमरालाई नवमीका दिनमा दुर्गा मन्दिरमा चढाउने, दशमीका दिनमा लाख बत्ती बालेर व्रत तोड्ने कार्यक्रम छ ।

आफ्नो घर चलाउनका लागि सामान्य माछापालन गर्ने उक्त परिवारले धर्मप्रति निकै आस्था राख्दै आएको छ । सो व्रत बस्नुभन्दा दुई दिनदेखि विष्णुले केही नखाई बसेको श्रीमान् कृष्णले बताए । लामो समयसम्म निराहार व्रत बस्दा पनि विष्णुको शरीरमा खासै समस्या नदेखिएको उनले बताए । घटस्थापनाका दिन उनको हात र छातीमा जौ र मकैको जमरा राखिएको हो ।

Loading...