दुई लघुकथा: स्त्री शक्ति र पद-पैसाको पुरुष राज्य

१) स्त्री शक्ति

एकादेशमा एक अति बलिष्ट, बुद्धिमान र सुन्दर युवक थियो। उक्त युवकसँग सबैजना आकर्षित हुन्थे।शक्तिशाली र घरानिया स्त्रीहरु समेत उक्त युवकको निम्ति मरिहत्ते गर्थे। मानै युवक लाखौको सपनाको राजकुमार थियो।

एक कान दुई कान मैदान हुँदै उक्त युवकको चर्चा राज दरबारसम्म पनि पुग्यो। उतिखेर उक्त देशकी रानी पनि पूर्ण यौवनले भरिएकी असाध्य सुन्दरी थिइन अरे। रानीले आफ्ना बिशेष सुसारेहरुलाई गोप्य रूपमा युवकलाई आफ्ना हजुरमा पेश गर्न आदेश दिइन। सुसारेहरुले अनेक गरेर खोजिकन उक्त युवकलाई दरबारमा रानीको अगाडि हाजिर गराए। उक्त युवकलाई देख्न साथ रानी एकै नजरमा यति मोहित भइन कि सिधै युवकसँग यौन प्रस्ताव राखिन। रानीले भनिन:- “हे युवक, तिमीलाई देखेर म मोहित भए, आउ मलाई भोग, म सन्तुष्ट नभएसम्म मलाई नछोड।”

युवक भन्दछ:- “हे महारानी म यस देशको इमानदार प्रजा हुँ, हजुर मेरो पालनहार हुनुहुन्छ, म हजुरसँग म यसो गर्न सक्दिन, यो महापाप हुन्छ ।” यस्तो सुनेपछि रानी क्रुद्ध भइन र युवकलाई दरबार भित्रै एउटा कोठामा थुनेर राख्न सुसारेहरुलाई आदेश गरिन ।

निर्दिष्ट समयमा उक्त देशका राजा रानीको खोपीमा आए, उनले रानीतिर दृष्टि दिए ।रानी चाहिँ लगाएका कपडा र केश बिगारेर रौद्र रुप धारण गरेर बसेकी थिइन । राजाले सोधे “के भयो प्राणप्यारी, कसरी यस्तो असामान्य अवस्था हुन गयो ?” रानीले भनिन- “आज अकस्मात एउटा युवक मेरो खोपीमा जबर्जस्ती पस्यो र मलाई लछारपछार गर्‍यो, मसँग यौन सम्पर्क गर्न खोज्यो । मैले बल्लतल्ल आफ्नो इज्जत जोगाएर सुसारेहरु लगाएर उसलाई यही एउटा कोठामा थुनेर राखेको छु । महाराज त्यस पापीलाई हदैसम्मको सजाय बक्सियोस।”

त्यसपछि भोलिपल्ट राजसभा बस्यो, उक्त युवक पातकी र राजद्रोही घोषणा भयो। सभाले उसलाई आजीवन काराबासको सजाय सुनायो।
अस्तु !

२) पदको र पैसाको पुरुष शक्ति:-

एकादेशमा एउटा असाध्य धनी मान्छे थियो। हेर्नमा त्यति राम्रो त थिएन तर धनको साथसाथै राजाको दरबारसम्म उसको पहुँच भएको हुँदा समाजमा उसको सम्मान अति उच्च थियो। दरबारमा हुने कार्यक्रमहरु,भोजभतेर आदिमा उसलाई बोलाइन्थ्यो र उ पनि शान सहित जाने गर्दथ्यो। राजाले उसलाई आफ्नो भरदारी सभाको सदस्य राखेका थिए। उसले प्रशस्त धन सम्पत्ती दिएर सुन्दर स्त्रीहरु भोग्ने गर्दथ्यो। देशका एक से नर्तकी, कलाकार आदिसँग उसको अन्तरंग सम्बन्ध थियो। सबैलाई पैसा दिएर अनि दरबारको पहुँचको डर देखाउने भएकोले हम्मेसी उसको विरुद्ध कोही बोल्दैनथे ।

त्यही देशमा एकजना बिदुसी बिधवा पनि बस्दथिन । त्यो पहुँचवाला धनी ब्यक्तिलाई ती स्त्रीलाई भोग्ने ईच्छा पलायो । त्यो ब्यक्ति उक्त स्त्रीको द्वारमा भयो र भन्न लाग्यो- “हे नारी म यस देशको सबैभन्दा धनी र दरबारसम्म पहुँच भएको ब्यक्ति हुँ । मसँग सम्बन्ध बनाउन सब लालायित हुन्छन तर म तिमीसँग लालायित भए, आउ मसँग सम्बन्ध बनाउ। तिमीले चाहे जति सम्पत्ती दिनेछु। ती नारी भन्छिन- “हे पुरुष तिमी सबैको निम्ति नायक हौला, मेरो निम्ति एउटा पतित पात्र बाहेक केही होइनौ। तिमीले मलाई पैसाले किन्न सक्दैनौं र मलाई दरबारको धाक पनि नदेखाउ। यस बिषयमा दरबारले मलाई न्याय दिनेछ।”

यस घटनापछि ती नारीले आफू धेरै अपमानित भएको महशुस गरिन, उतिबेला जनताले सबै उजुरी गरेर न्याय पाउने आसा दरबारबाटै गर्थे । उनले आफुलाई परेको अन्याय विरुद्ध राजाको दरबारमा उजुरी गरिन । निश्चित समयमा राजाले भारदारी सभा बोलाए, ती स्त्रीलाई पनि त्यहाँ बोलाइयो । उनले रुदै आफुलाई परेको ब्यथा सुनाइन र न्यायको भिख मागिन। तर, त्यो सभामा उक्त पुरुषले कड्किएर नारीमाथि नै झुटो आरोप लगाएको लाल्छना लगायो । उक्त नारी पतित बेश्या, पागल भएको भनेर करायो र भारदारी सभामा भएका अरु दुईचार जनाले पनि यसै बमोजिमको साक्षी दिए ।

यता पीडित नारीको आवाज सुन्ने र साक्षी दिने कोही भएनन् । राजाले नारीलाई सोधे- “तिम्रो पक्षमा बोलिदिने कोही छ?” अहँ त्यहाँ कोही थिएन । त्यसकारण भारदारी सभाले ती नारीलाई पतित बेश्या र बौलाहा ठहर्‍यायो । उनलाई चौराहामा लगेर ढुङ्गाले हानीहानी मार्ने र लाशलाई कुकुर, गिद्द जरुको निम्ति खान छोडिदिने फैसला गर्‍यो।तोकिएको दिनमा यस्तै भयो र नारीको इहलिला समाप्त भयो। अस्तु !

 
Loading...