पर्यटन वर्ष सफल बनाउन निम्तो आदानप्रदान

मोरङ, १४ असोज । नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान गरिएको छ । सोमबार विराटनगरमा गण्डकी प्रदेश सरकारले गण्डकी पर्यटन प्रवद्र्धन अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ र गण्डकी प्रदेशले आ–आफ्ना प्रदेश भ्रमण गर्न निमन्त्रणा दिएका हुन् ।

पोखरादेखि मुक्तिनाथजस्तो चर्चित र गण्डकी प्रदेश सुन्दर भएकाले प्रदेश सरकारले २०१९ देखि २२ सम्म मनाइरहेको अभियानमा आउन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई चुल्हेनिम्तोसहितको निमन्त्रणा कार्ड प्रदान गरे । आन्तरिक र बाह्य पर्यटकको मुख्य केन्द्र रहेको पोखरामा पर्यटकको सहभागिता वृद्धि गरी प्रचार गर्न अन्तरप्रदेश सहकार्य जरुरी भएको मन्त्री लम्सालले बताए ।

कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नं १ पर्यटनका लागि देशभरनै एक नम्बर रहेकाले गण्डकी प्रदेशलाई पनि भ्रमणका लागि निमन्त्रणा दिए । उनले गण्डकी प्रदेशको पर्यटन पवद्र्धन वृद्धि गर्न विराटनगरदेखि पोखरा हवाईसेवा विस्तार गर्ने तयारी भइरहेको बताए । प्रदेश नं १ मा विश्वको अग्लो सगरमाथादेखि देशकै होचो केचना कवल, विराट राजाको दरबार, पाथिभरादेवी, एशियाकै अग्लो ह्यातुङ झरना, चिया, अलैँची, रुद्राक्षको राजधानी जस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको जानकारी गराए ।

मुख्यमन्त्री राईले भने, “केन्द्र सरकारको भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश र स्थानीय सरकार लाग्न जरुरी छ ।” उनले विदेशी पर्यटकसँगै आन्तरिक पर्यटन पनि प्रवद्र्धन गर्न अन्तर प्रदेशको सहकार्य आवश्यक रहेको बताए ।

Loading...