तालबाराही आरतीमा ४० हजारले गरे अवलोकन

चिप्लेढुङ्गा, १४ असोज । पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा माता तालबाराही सेवा समितिले गर्दै आएको सन्ध्या आरती कार्यक्रममा एक वर्षमा ४० हजार पर्यटकले अवलोकन गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको सङ्गीतमय महाआरती पुजन गत वर्ष असोज २४ गते घटस्थापनाका दिनबाट शुरु गरिएको हो ।

सन्ध्या आरतीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै गएकोसमितिका अध्यक्ष गिरिराज अधिकारीले बताए । सन्ध्याकालीन आरतीमा एक वर्षमा ४० हजारले अवलोकन गरेको उनले जानकारी दिए । २६ हजार नेपाली र अन्य भारत तथा तेस्रो मुलुकका पर्यटक छन् । “शुरुमा आर्थिक कठिनाइले निरन्तरता दिन गाह्रो हुन्छ कि भन्ने लागेको थियो, तर पर्यटक भक्तजनको उत्साहजनक सहभागिता र दानदक्षिणाले यसलाई निरन्तरता दिन सफल भयौँ”, अधिकारीले भने, “दैनिक पाँच हजार खर्च हुन्छ, अहिलेसम्म एक वर्षमा रु १८ लाख खर्च भएको छ ।”

भक्तजनबाट रु १६ लाख ५० हजार आम्दानी भएको अधिकारीले जानकारी दिए। उनले पर्यटन व्यवसायी गणेश भट्टराई, स्थानीय ढाकाबहादुर थापा र दामोदर गिरीले रु २५ हजार सहयोग गरी अक्षयकोषमा रु एक लाख ५० हजार रहेको पनि जानकारी गराए । सन्ध्या आरतीमा पानी पर्दा निकै समस्या हुने भएकाले छत हालेर व्यवस्थित बनाउन आवश्यक रहेको भन्दै पूर्वाधार विकासका लागि सहयोग नपाएको उनको गुनासो छ ।

प्रसिद्ध महाआरती सञ्चालन गर्दा धार्मिक पर्यटक वृद्धि हुनुका साथै पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने र बेलुकाको समयमा फेवाताल किनारमा महाआरती सञ्चालन गर्दा मानिसमा सकरात्मक सन्देश प्रवाह भई विकृति विसङ्गतीको अन्त्य हुने उनको विश्वास छ । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको फेवाताल दृश्यावलोकन र डुङ्गा सयरका लागि मात्र नभई आध्यात्मिक शान्तमनका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।

फेवातालको बीचमा रहेको तालवाराही मन्दिरमा सन्ध्याकालीन आरती पूजा शुरु गरिएपछि आध्यात्मिक पर्यटक र श्रद्धालु भक्तजनलाई आकर्षित गरेको उनको भनाइ थियो । तालबाराहीको आरतीले पर्यटकलाई निकै आकर्षित गरिरहेको होटल रानीवन आर्केटका सञ्चालक शारदा भुजेलले बताए । होटलमा आउने पाहुनाले आरती हेरेर आएपछि निकै सकारात्मक प्रतिक्रिया दिने गरेका उनको भनाइ छ ।

पूजा आरधनाले आध्यात्मिक शक्ति जगाउने र मनलाई शान्त बनाउने भुजेलले बताए । दिउँसो मात्र पर्यटकको चहलपहल हुने फेवातालमा सन्ध्याकालीन आरती पूजाले साँझ पनि पर्यटकको भीड लाग्ने गरेको होटल सङ्घका कोषाध्यक्ष पार्वती पाण्डेले बताए । नेपालमा बढ्दो आन्तरिक पर्यटकको आगमनले पर्यटन उद्योगको विकासमा भूमिका खेल्दै गएको उनको भनाइ छ ।

आरती सेवा समितिका सचिव सूर्यनाथ पहारीले आरती गराउन देश तथा विदेशबाट समेत भक्तजन आउने गरेका बताए । परिवारका सदस्यको जन्मदिनमा वा मृतात्माको चीर शान्तिको कामना गर्न आरती गर्नेको सङ्ख्या बढिरहेकोे छ । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटक साँझमा फेवा किनारको आरतीमा भक्तिसङ्गीतमा झुम्दै नाच्ने गरेका उनले बताए ।

Loading...