मिडियाले नेताको हालत बनाएको भन्दै प्रचण्डले मिडियासँग मागे न्याय, टिभी हेर्नै छाडेको जानकारी

काठमाडौं, ११ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया न्यायाधिश बनेको टिप्पणी गरेका छन् । पछिल्लो समय नेपाली मिडियाले समाजमा ठूलो प्रभाव पारेको उल्लेख गर्दै मिडियासँग उनले न्याय पनि मागेका छन् ।

राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा दैनिक अनलाइनको सुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो टिप्पणी गरेका हुन् । नेकपाका महासचिव बिष्णु पौडेल, स्थायी समिति सदस्य तथा शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, स्थायी समिति सदस्य लिलामणी पौडेलसहित कार्यक्रममा बोलाइएका प्रचण्डले मिडियाले नेताहरुलाई पछिल्लो समय निकै प्रहार गरेको गुनासो व्यक्त गरे । उनले मिडिया आलोचक हुनु स्वभाविक भए पनि अत्यन्तै तल्लोस्तरको भाषा र शैलीमा आक्षेप लगाइने गरेको बताए । मिडियाले सधै नेताहरुको आलोचना गरिरहने उल्लेख गर्दै उनले तर त्यसबाट नेताहरुको हालत के भएको होला भन्ने तर्फ भने मिडियाले ख्याल नगरेको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालमा हेर्नै नसकिनेगरी नेताहरुमाथि गाली गरिने गरेको उल्लेख गर्दै त्यसले मिडियामा साँच्चिकैको बाढी आएको रहेछ भन्ने अनुभूति भएको बताए ।

मानिसमा नकारात्मक कुराले बढी प्रभाव पार्ने बताउँदै अध्यक्ष प्रचण्डले मिडियामा पनि त्यस्तै नकारात्मक आलोचनाहरु बढी आएको बताए । जनतालाई सुसूचित गर्न, सचेत बनाउनुका साथै सन्देश प्रवाह गर्ने प्रभावकारी भूमिकामा मिडिया रहेको बताउँदै प्रचण्डले मिडियाले खेल्ने भूमिका अरु क्षेत्रबाट हुन नसक्ने पनि बताए । राजनीतिक दलहरुले पनि समाजमा सकारात्मक परिवर्तनका लागि भूमिका खेल्ने भए पनि अहिले मिडिया अग्रपंक्तिमा रहेको उनले बताए । नकारात्मकता पनि निकै गालीगलौजमा उत्रिएको भन्दै त्यसका केही उदाहरण समेत प्रचण्डले दिए । मार्नुपर्छ, रगत पिउनुपर्छ भन्ने जस्ता प्रतिक्रिया पनि मिडियामा देखिएको भन्दै त्यस्ता कुराहरुलाई सकारात्मक मिडिया अभियान चलाएर सच्याउनुपर्नेमा उनले जोड दिए ।

टिभी हेर्नै छोडे प्रचण्डले

कुनै समय रेडियो समेत सबैसँग नहुने गरेको र टिभी आएपछि के के न आयो भनेर ठूलो ठानिएको आफ्नै पालाका सन्दर्भहरु सुनाउँदै प्रचण्डले हिजोआज रेडियो, टिभीहरु अस्तित्वको लडाइँ लडिरहेको बताए । रेडियो सुन्ने र टिभी हेर्न मान्छेहरु निकै कम भएको भन्दै उनले हिजो आज आफूले घरमा टिभी समेत हेर्न छाडेको बताए । टिभी घरमा भए पनि त्यो बिग्रेको छ कि सही छ भन्ने केही थाहा नै नहुने गरेको उनले सुनाए ।

त्यसैगरी कुनै समय साप्ताहिक पत्रिका निकै लोकप्रिय भएको र लामो समयपछि साप्ताहिक पत्रिका पाएमा निकै रुचीपूर्वक पढ्ने गरिएका सन्दर्भ सुनाएर प्रचण्डले अहिले डिजिटल मिडियाका कारण दैनिक पत्रिकाहरु पनि मान्छेहरुले पढ्न छाडेको बताए ।

पछिल्लो समय अनलाइन मिडिया निकै प्रभावकारी भएर आएको र सबैले अनलाइन मिडियाबाटै समाचारहरु हेर्ने गरेको बताउँदै प्रचण्डले अहिले त अनलाइन मिडियाभन्दा पनि सोसल मिडिया अझ बढी शक्तिशाली र प्रभावकारी भएर आएको बताए । उनले सोसल मिडियाले अब अनलाइन मिडिया पनि पछि पर्ने संकेत गरेको उनले बताए ।

उदय जिएमको सम्पादकत्वमा ए एण्ड ए मिडियाले आजैदेखि दैनिक अनलाइन पत्रिका औपचारिक रुपमा सुभारम्भ गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका महानिर्देशक डा. महेन्द्र विष्ट, महासंघका उपाध्यक्ष दिलिपकुमार थापा, अनेरास्ववियूका संयोजक ऐन महर, विभिन्न मिडियामा आवद्ध पत्रकारहरूको बाग्लो उपस्थिति रहेको थियो ।

Loading...