पर्यटकीय गतिविधि बढे

रुपन्देही, १० असोज । प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकको सङ्ख्या समेत वृद्धि भएको छ ।

प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ सँगै नेपाल भ्रमण वर्ष २०२० को तयारीका लागि विभिन्न गतिविधिहरु शुरु भएका छन् । लुम्बिनी आउने पर्यटक २० लाख पु¥याउने लक्ष्यसहित सञ्चालन गरिएको लुम्बिनी भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारले हरेक महीना यहाँका बौद्ध गन्तव्यहरुमा दीप प्रज्ज्वलन, साँस्कृतिक झाँकीहरुको प्रदर्शनीगायतका कार्यक्रमहरु गर्दैआएको छ । त्यसबाहेक लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राममा हरेक पूर्णिमाको साँझ पूर्णिमा उत्सवका कार्यक्रम गर्न प्रदेश सरकारले आव्हान गरेको छ ।

लुम्बिनी भ्रमण वर्षको सन्दर्भ पारेर प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरु प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, गुल्मीको रिडी र रेसुङ्गा, रोल्पाको जलजला र थवाङ, पाल्पाको रानीमहल, दाङको धारापानी र रिहार, बाँकेको बागेश्वरी र बर्दिया राष्ट्रिय निकुञ्जको प्रचारप्रसार तथा प्रवद्र्धनका कार्यक्रम बनाइएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताए ।

उनका अनुसार भ्रमण वर्षको सन्दर्भ पारेर लुम्बिनीसहितका बौद्ध गन्तव्यहरुको जानकारीका लागि ब्रोसर तथा प्रदेश ५ का सबै पर्यटकीय क्षेत्रहरुलाई समेटेर पर्यटन गाइड बुक प्रकाशन गरिएका छन् । त्यसबाहेक भ्रमण वर्ष अवधिभर १२ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना प्रदेश सरकारको छ । लुम्बिनी भ्रमण वर्षको घोषणासँगै लुम्बिनी र आसपासका बौद्ध गन्तव्यहरुमा पर्यटकहरुको चहलपहल बढेको लुम्बिनी विकास कोषले जनाएको छ ।

ईसापूर्व ६२३ मा यहाँको लुम्निीको पवित्र बगैंचामा मायादेवीको कोखबाट महामानव गौतमबुद्धको जन्म भएको हो । यो भूमि संसारभरिका बुद्धमार्गी र शान्तिप्रेमीहरुका लागि पवित्र गन्तब्य हो । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेसँगै लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको देखिएको छ । लुम्बिनी भ्रमण वर्ष घोषणापछि लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकहरुकोे सङ्ख्या बढेको कोषको सूचना शाखाले जनाएको छ । कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार भ्रमण वर्ष घोषणा भएयताका चार महीनाको अवधिमा १०६ मुलुकका पर्यटकहरु लुम्बिनी आएका छन् ।

पछिल्लो ४ महीनामा मात्र दुई लाख ६९ हजार ७४४ स्वदेशी, २३ हजार ७३२ विदेशी र ५८ हजार ८४४ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा एक लाख ५४ हजार ४९३ स्वदेशी, २६ हजार ८१५ विदेशी र ४६ हजार ६०८ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए जब कि यी ४ महिना लुम्बिनी घुम्नग अनुकूल मानिँदैन । अत्यधिक गर्मी र त्यसपछि वर्षात्का कारण जेठदेखि भदौसम्म लुम्बिनी आउने पर्यटकको सङ्ख्या हरेक वर्ष निकै कम हुने गरेको छ । कोषका अनुसार यस वर्ष बौद्ध राष्ट्रसहित यूरोप र मुस्लिम राष्ट्रहरुबाट लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्या समेत बढेको छ ।

लुम्बिनी होटल एशोसियशनका अध्यक्ष मिथुनमान श्रेष्ठ विदेशी पर्यटकको सङ्ख्या वृद्धि भए पनि उनीहरुको बसाइ अवधि लम्ब्याउने चुनौती कायमै रहेको बताए । भ्रमण वर्षले विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग गर्ने कार्यक्रम ल्याउनुपर्नेमा उनकोे जोड छ ।
लुम्बिनी बाहेक बुटवलको फुलवारी, सिद्धबाबा, जितगढी किल्ला, हिलपार्क तथा बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल, अर्घाखाँचीको सुपा ददेउराली, गुल्मीको रिडी र रेसुङ्गामा पनि स्वदेशी पर्यटकहरुको सङ्ख्या बढेको छ ।

प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष आयोजनाले प्रदेशमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट प्रदेश ५ का अध्यक्ष सागर अधिकारीले बताए । उहांका अनुसार स्वर्गद्वारी, सुपा देउराली, रानीमहल र दाङको रिहार घुम्न आउने स्वदेशी तथा भारतीय पर्यटकको सङ्ख्या बढेको छ । भौतिक पूर्वाधार निर्माणका काम भने समयमा नसकिँदा पर्यटकहरुलाई सास्ती भएकाले प्रदेश सरकाले यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ । “भैरहवा–लुम्बिनी सडक निर्माणको क्रममा रहेकाले आवतजावत गर्न सा¥है समस्या छ,” उनले भने ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पनि हरेक वर्ष पर्यटकको सङ्ख्या बढ्दै गएको छ । वैशाखयता अत्यधिक गर्मी र वर्षाका कारण पनि निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या धेरै देखिएको निकुञ्जका राजश्व फाँटका कर्मचारी सतिश चौधरीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १३ हजार ५११ स्वदेशी र ६ हजार ८११ विदेशी पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकलन भ्रमण गरेका छन् ।

गत आर्थिक वर्षमा भने यो सङ्ख्या अझै बढेको देखिन्छ । गत आव २०७५/७६ मा १६ हजार २९८ स्वदेशी पर्यटक र २४ हजार ५९८ विदेशी पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकलन भ्रमण गरेका छन् । यो वर्ष पर्यटन प्रवद्र्धनका गतिविधिहरु बढेका कारण सङ्ख्या अझै बढ्ने निकुञ्जको विश्वास छ ।

प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र विकास गर्न सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रसँग साझेदारी गर्ने र ग्रामीण पर्यटनमार्फत यस क्षेत्रका लाभलाई जनस्तरसम्म पु¥याउने रणनीति लिएको छ । मन्त्रालयले सबै मौसममा पर्यटकीय क्रियाकलापहरू सञ्चालन गर्न सकिने विभिन्न योजनासमेत बनाएको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत टुकराज पाण्डेले भने – “अब लुम्बिनी घुम्ने सिजन र अफ सिजन नहोस्, सबै मौसममा घुम्न सकियोस् भन्नाका लागि योजनाहरु बनाइएका छन् ।” पर्यटकलाई आकर्षण गर्न विभिन्न जिल्लाहरुमा होमस्टे र खुला रङ्गमञ्च निर्माण तथा थारु कल्चरल भिलेज र पार्क निर्माणका कामसमेत अगाडि बढाइएको छ ।

त्यस्तै, बर्दिया, दाङ्ग, बाँके, पाल्पा र गुल्मीमा होमस्टे प्रवद्र्धनका कार्यहरू सञ्चालन भएका छन् । पाल्पाको तानसेन, दाङको घोरदौरा, रुपन्देहीको जितगढी र बर्दियाको ठाकुरद्वारामा साँस्कृतिक डबली, खुल्ला नाट्यघर निर्माणको काम शुरु भएको मन्त्रालयले जनाएको छ ।
पर्यटकीय पदमार्गको अध्ययन, धार्मिक तथा साँस्कृतिक पर्यटकीय केन्द्रको एकीकृत विकास आयोजना निर्माणका लागि अध्ययन थालिएको छ । विभिन्न धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणका कार्य शुरु भएका छन् ।

पछिल्लो समय प्युठानको स्वर्गद्वारी मन्दिर जाने दर्शनार्थीहरुको सङ्ख्या पनि अत्यधिक बढेको छ । आव २०७४/७५ मा २ लाख ५० हजार र आव २०७५/७६ मा ३ लाख स्वदेशी र विदेशी दर्शनार्थीले स्वर्गद्धारी मन्दिरको दर्शन गरेको स्वर्गद्वारीका प्रहरी इञ्चार्ज हरि बहादुर बस्नेतले जानकारी दिए । स्वर्गद्वारी मन्दिर आउनेमा सबैभन्दा बढी भारतीय पर्यटकहरु छन् । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष आयोजना गरेका कारण पनि यो वर्ष पर्यटकको सङ्ख्या अझै बढ्ने उनको अनुमान छ ।

प्राचीन कपिलवस्तु विकास आयोजना र तानसेन दरबारलाई ऐतिहासिक सङ्ग्रहालयको रुपमा विकास गर्ने, तानसेनस्थित पाल्पा दरबारलाई प्रादेशिक सङ्ग्रहालयको रुपमा विकास गर्ने कार्य भैरहेको पर्यटन प्रवद्र्धन महाशाखाले जनाएको छ । यस्तै कपिलवस्तुको जगदीशपुर ताल क्षेत्रमा ‘आगन्तुक चरा अध्ययन केन्द्र’ स्थापनाका लागि तयारी थालिएको छ ।

प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रको प्रवद्र्धन, प्राकृतिक स्रोेतहरूको संरक्षण एवं दिगो व्यवस्थापनबाट समृद्धि हासिल गर्दै ‘समृद्ध प्रदेश, खुशी जनता’ प्रादेशिक लक्ष्य पूरा गर्न योगदान पु¥याउने दीर्घकालीन सोचका साथ विभिन्न योजना अगाडि सारिएको मन्त्रालयका अर्का अधिकृत गणेश घिमिरेले बताए ।

Loading...