लोकसेवाले २० हजार पदमा विज्ञापन गर्दै, खरिदारदेखि सहसचिवसम्म

काठमाडौँ । लोकसेवा आयोगले २० हजार कर्मचारीका लागि विज्ञापन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सेवा र समूहमा करिब २० हजार कर्मचारी रिक्त रहेको जानकारी पठाएपछि ती पदहरु पूर्ती गर्न आयोगले विज्ञापन गर्ने तयारी गरेको हो ।

संघीय मामला तथा संघीय मामला मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालका अनुसार रिक्त रहेका र ओएनएम गरी सिर्जना गरिएका नयाँ पदहरुसमेत जोडेर आयोगलाई पठाईएको छ । सरकारले विभिन्न मन्त्रालयका आयेजनाहरुका लागि करिव पाँच हजार अस्थायी दरवन्दी एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । यी दरवन्दी भने नियमित पदहरु नभएकोले आयोगमा नपठाएको जानकारी मन्त्रालयले दिएको छ । 

आयोगले माघको अन्तिम साताभित्र ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पु९याएका बताएको छ । आयोगका सचिव आनन्दराज ढकालले आफू भर्खरै आयोगमा सरुवा भई आएकाले यस विषयमा अध्ययन गरेर आवश्यक प्रकृया अगाडी बढाउने जानकारी दिए । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले आयोगले नियमित प्रकृया अन्तर्गत आयोगको क्यालेण्डर अनुसार काम गरिरहेको बताए ।

आयोगका अनुसार १७५ उपसचिव र १०० सहसचिव पद लगायत सबै समूह र श्रेणी गरी २० हजारको हाराहारीमा विज्ञापन गर्ने तयारी भइरहेको छ । सूचना अधिकारी सुवेदीले संख्याको यकिन भइनसके पनि विगत वर्षहरुभन्दा यो वर्ष ठूलो संख्यामा विज्ञापन हुने जानकारी दिए ।

सो कार्ययोजनाअनुसार प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव स्तरसम्ममा नै लोकसेवा खुल्ने निश्चित भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष गरेको प्रक्षेपणअनुसार १४ हजार पदमा लोकसेवा खुलाउने गरी आयोगलाई पत्रचार गरेकोमा यो वर्ष थप भई २० हजारको हारहारीमा पुगेको बताईन्छ ।

केन्द्रीय सरकारले रिक्त कर्मचारी दरबन्दीको प्रक्षेपण गर्दा समायोजनपछि संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने दरबन्दीको छुट्टाछुट्टै प्रारूप तयार पार्नेछ । यसका लागि संघ, प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दी र समायोजन भएर जाने सम्भावित दरबन्दीको विश्लेषण गरी रिक्त हुने दरबन्दीको प्रक्षेपण गरिने मन्त्रालयले जनाएको छ ।

संघीय मामिला मन्त्रालयका अनुसार यस अवधिमा संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनजस्ता कानुनसमेत बनाउने प्रक्रिया अगाडी बढेको छ । साथै कतिपय प्रदेशले प्रदेश लोकसेवा आयोग गठन गरिसकेका छन् भने कतिपय गठनको प्रकृयामा छन् ।

स्थानीय तह र प्रदेश तहमा कर्मचारी नियुक्ति सम्बन्धी कानुनी व्यवस्था नहुँदा लोकसेवा आयोगले यो वर्ष ठूलो संख्यामा विज्ञापन गर्ने तयारी गरेको हो । स्थानीय तह र प्रदेश सरकारले कर्मचारीको नियुक्ति सम्बन्धी कानुनी व्यवस्था गरेपछि आयोगको काम कम हुँदै जाने बताईन्छ ।

प्रदेश लोकसेवा आयोग गठन भएपछि भने प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको पदपूर्ति प्रदेश लोकसेवा आयोगले गर्नेछ । केन्द्रीय लोकसेवा आयोगले भने संघीय सरकार र यसअन्तर्गत रहने कार्यालयका लागि मात्रै कर्मचारीको पदपूर्ति गर्ने संवैधानिक व्यवस्था छ ।

लोकसेवाले गत वर्ष विज्ञापनको तयारी गरे पनि सरकारको लिखित आग्रहमा परिक्षा तालिका सार्दै आएको थियो । सरकारले कर्मचारी समायोजनका कारण रिक्त दरबन्दी विवरण पठाउन नसकेपछि लोकसेवाले मंसिर अन्तिम साता पनि प्रशासन, इन्जिनियरिङ, स्वास्थ्य, कृषि, प्राविधिक पदमा ठूलो संख्यामा विज्ञापन गर्न सकेको थिएन । जसका कारणले सरकासँग आयोग रुष्ट हुँदै आएको थियो ।

समयमै कर्मचारी समायोजन थालेर रिक्त दरबन्दीको प्रक्षेपण गर्न लोकसेवाले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । वार्षिक झन्डै ८ लाख युवायुवतीहरु लोकसेवाको नियमित तयारीमा रहने भन्दै आयोगले सरकारलाई छिटो पदपूर्ति प्रक्रिया थाल्न आग्रह गर्दै आएको थियो ।

Loading...