यस्तो शर्तमा छुटे ज्ञानेन्द्र शाही, प्रहरी भन्छ- सुध्रिने मौका दिनलाई छोडियो

काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् ।

उनले भनिन्, ‘आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर छाडेका हौं ।’ उनका अनुसार शाहीलाई यो सुध्रिने मौका हो । शाहीलगायतका युवाले गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए । तर, गालीगलौजका क्रममा संयमित देखिएका भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिएका छन् र त्यसप्रति माफी पनि मागेका छन् । बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरेजस्तो १ घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।

शाहीलाई अभद्र व्यवहार कसूरसँगै गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ विपरीत कसूर गरेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको थियो तर मन्त्री भट्टराईले नै मुद्दा चलाउन नदिएको स्रोतले बतायो।गैरसैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन २०१५ अनुसार उडानमा रहेका वायुयानभित्र कुनै व्यक्तिविरुद्ध आक्रामक व्यवहार गरेमा वा त्यस्तो काम कारवाहीले वायुयानको सुरक्षामा खतरा हुने सम्भावना भएमा त्यसलाई हवाई उडानको सुरक्षा विरुद्धको अपराध मानिन्छ । उक्त दफा बमोजिमको ‘अपराध गर्नेलाई जन्म कैद र त्यस्तो अपराध गर्न उद्योग गर्ने वा मतियार हुनेलाई पन्ध्रदेखि बीस वर्षसम्म कैद’ हुने कानुनी ब्यबस्था छ।

आइतबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा जहाजभित्र दुर्व्यवहार भएको उनको सचिवालयले बताएको थियो । शाहीको समूहले व्यक्त गरेको विचारप्रति भने भट्टराईको सचिवालयले गम्भिर आपत्ति जनाएको छ । ‘जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुर्व्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ’ सचिवालयले भनेको छ, ‘यो नियोजित घटनाको हामी भत्र्सना गर्दछौं ।’

यो समूहले पछिल्लो समय व्यक्त गर्दै आएको विचारप्रति जानकार रहेको भन्दै मन्त्री भट्टराईको सचिवालयले ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा यो समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन्’ भनेको छ । सिंहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ले संविधान बिरोधी हर्कत गरिरहेको भन्दै मन्त्रीको सचिवालयले यसप्रति सचेत रहन लोकतान्त्रिक शक्तिहरुलाई अपील समेत गरेको छ । अनर्गल प्रचारको जवाफ दिँदै मदन भण्डारीले ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ’ भनेको स्मरण गर्दै मन्त्री भट्टराईको सचिवालयको विज्ञप्तिमा भनिएको छ, सतिसाल जस्तै देश र जनताको पक्षमा ठिङ्ग उभिरहने प्रण गर्दछौं ।

Loading...