नारायणी नदीमा दशैँ अघि क्रुजको परीक्षण

Image result for नारायणी नदीमा दशैँ अघि क्रुजको परीक्षण

चितवन, २९ भदौ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप मिनि पानी जहाजको परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सोमवारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल भित्रने छ । इन्जिन जडानलाई धेरै समय नलाग्ने भएकाले सजावट र रङरोगनको काम १५ दिनभित्र सम्पन्न गरी नदीमा परीक्षण गरिने कँडेलले जानकारी दिए ।

उक्त परीक्षण पछि नियमित सञ्चालन भने दशैंपछि मात्र गर्ने तयारी गरिएको छ । भूइतला मात्र वातावरण अनुकूलित बनाइने भनिएकोमा पहिलो तल्ला पनि वातावरण अनुकूलित बनाइने भएको छ । पहिलो तल्लाको अगाडिको भाग र दोस्रो तल्लासमेतमा पर्यटकले उभिएर अवलोकन गर्न सक्ने कँडेलले जानकारी दिए । क्रुजमा २०० जना सिटमा अट्ने छन् भने ३० जना उभिएर यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ ।

भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करीब रु। १५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताउदै क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र सञ्चालन गरिने जानकारी दिए ।

क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेले ब्रेकफाष्ट, अपरान्ह खाना खाँदै रमाउन चाहनेका लागि लञ्च र साँझमा डिनरको पनि क्रुजमा नै व्यवस्था हुने बताइएको छ । प्रत्येक क्रुजिङ यात्रा करीब तीन घण्टा लामा हुनेछ । काभ्रेघाटदेखि यात्रा शुरु भई देवघाट पुगेर गोलाघाटसम्म २५ किलो मिटरको दुरी रहेको यो जलयात्राका लागि बाटोसमेतको अध्ययन भइसकेको छ । क्रुज दुई तल्ला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।

Loading...