अविरल वर्षाले तीन दिनदेखि खानेपानी वितरण ठप्प

सुर्खेत, २९ भदौ । अविरल वर्षाले खानेपानीका संरचनामा क्षति पु¥याएपछि वीरेन्द्रनगरका अधिकांश क्षेत्रमा तीनदेखि पानी वितरण पूर्णरुपमा ठप्प भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

“वर्षापछिको पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति पु¥याएको हुँदा खानेपानीका मुख्य स्रोत झुप्रा मुहान, खरी–बोरी खोला, इत्राम र खोर्के मुहानबाट इत्राम र अन्य संकलन केन्द्रमा पानी नझरेपछि समस्या आएको हो । वर्षाले एकै पटक सबै स्रोतमा क्षति पुगेकाले वितरण ठप्प हुन पुगेको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, “तीन दिनदेखि प्लान्टमा एक थोपा पानी संकलन नभएकोले वितरण गर्न नसकिएको हो ।”

देवकोटाका अनुसार खरीबोरी खोलाबाट आएको पाइपलाइन दोबिल्ला नजिक पहिरोले क्षति पु¥याएको छ । वर्षाका कारण झुप्राको लाइनबाट अत्याधिक धमिलो र लेदो पानी मात्रै आएकाले संकलन केन्दमा हालिएको छैन् । वर्षाले झुप्राको इन्टेकसमेतमा क्षति पुगेको, इत्राम र खोर्के खोलाको स्रोतमा पनि भल पसेका कारण संकलन केन्द्रसम्म पानी ल्याउन सकिएको छैन् ।

बुलबुले स्रोतमा भने ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाएको छ । पहिरोले पाइपलाइन र अन्य संरचनामा ठूलो क्षति पु¥याएकाले मर्मत भइरहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । संरचनामा क्षति पुगेलगत्तै मर्मत टोली फिल्डमा खटिएको बताइएको छ ।

आइतबार साँझसम्म वीरेन्द्रनगरका केही भागमा पानी वितरण गर्ने लक्ष्यका साथ मर्मत काम भइरहेको र सबै क्षेत्रका उपभोक्ताको धारामा सोमबार बेलुकासम्म पानी आउने इन्जिनियर तिवारीले बताए  कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा हाल १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले सुख्खा खडेरी र वर्षातमा पानी वितरणमा समस्या झेल्दै आएको छ ।

Loading...