पोखरा अन्तर्राष्ट्रिय काव्य संगम सम्पन्न

पोखरा, २४ भदौ । देवकोटा लुछुन एकेडेमी नेपालद्वारा आयोजित पोखरा अन्तर्राष्ट्रिय काव्य संगम–२०७४ एक समारोहका बीच आज यहाँ सम्पन्न भएको छ ।

काव्य संगममा नेपाल, भारत र भुटानका तीन दर्जनभन्दा बढी कविले आआफ्ना रचना वाचन गरेका थिए । उनीहरूले समाजका विद्यमान विकृति, विसंगती, गिर्दो मानवीय संवेदनालगायत विषयमा सिर्जनामार्पmत व्यंग्य प्रहार गरेका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गर्दै भाषा, साहित्य र संस्कृति विश्वमै सबैको साझा भएको बताउँदै यिनीहरूको जगेर्ना गर्नु आवश्यक रहेको बताए ।

सामाजिक सचेतना अभिवृद्धिका लागि सर्जकले आफ्ना सिर्जनामार्पmत महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उहाँले राज्यले पनि साहित्यका क्षेत्रमा लाग्ने स्रष्टालाई उच्च मूल्यांकन गर्नुपर्ने बताए ।

वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले कविता छोटो र लामो हुनुले कुनै अर्थ नराख्ने बताउँदै विषयको गाम्भीर्य, भावलगायत कसिलोपन ल्याउने तत्वको महत्वपूर्ण भूमिका हुने बताए ।

प्राज्ञ हरिदेवी कोइराला, उषानन्दी गहतराज (भारत सिलिगुडी), उषाकिरण राई, खर्साङ, तुम्बेहाङ लिम्बू (भुटान), देवरती भट्टाचार्य (कोलकाता) लगायतले कविता वाचन गरेका थिए ।

एकेडेमीका अध्यक्ष निनु चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार कृष्ण प्रसाईँद्धारा लिखित ‘घामको विरासत’ शीर्षकको कविता संग्रहको लोकार्पण पनि गरिएको थियो ।

Loading...