धनगढी फुटसल लिगकोे उपाधि कैलाश विकास बैंकलाई

धनगढी, २८ भदौ । यहाँ भएको ‘नेपाल आइस धनगढी फुटसल लिग‘को उपाधि कैलाश विकास बैंकले पाएको छ । आज भएको अन्तिम ‘फाइनल‘ खेलमा नविल बैंकलाई चारका विरुद्ध नौ गोल गर्दै कैलाश विकास बैंकले उपाधि जितेको हो ।

‘नेपाल आईस धनगढी फुटसल लिग‘को विजेता बनेसँगै कैलाश विकास बैंकले रु ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको नविल बैंकले रु २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।

कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याट्रिक गरेका थिए । यस्तै रमेश बोहोराले दुई र महेश चौधरीले एक गोल थपे । नविलका लागि विवेक विष्टले दुई तथा वीरेन्द्र विष्ट र केशव चौधरीले एक एक गोल फर्काएका थिए ।

धनगढीस्थित फ्ल्याटल्याण्ड फुटसल मैदानमा भदौ ६ गतेदेखि शुरु प्रतियोगिताको आजको फाइनल खेल भएको थियो । लिगको उत्कृष्ट खेलाडीमा नविल वैंकका वीरेन्द्र विष्ट घोषित भई पुरस्कृत भए । सर्वाधिक गोलकर्ता कैलाश विकास बैंकका रमेश बोहोरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए । फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाहको अध्यक्षमा भएको समापन समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । ।

Loading...