देशभरिका विज्ञान विषयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिने

काठमाडौं । कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट विद्यार्थीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । आगामी असोज १ गते परेको विज्ञान दिवसमा अवसरमा हरेक प्रदेशका सामुदायिक र निजी विद्यालयका उत्कृष्ट एकरएक गरी १४ विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको हो ।

दिवस मनाउनका लागि सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सबै शैक्षिक संस्थामा विविध कार्यक्रम गरेर दिवस मनाउन पत्राचार गरिसकिएको जानकारी दिए ।

दिवस मनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा विज्ञानसँग सम्बद्ध संस्थाहरुका प्रतिनिधि सहितको मूल समारोह समिति गठन गरिएको छ । समितिको गत १७ गते बसेको बैठकले ‘विज्ञान प्रविधि र नवप्रर्वतन : सामाजिक आर्थिक रुपान्तरण’ भन्ने नारा सहित दिवस मनाउने निर्णय गरेको थियो । २०६९ मंसिर ८ गतेको मन्त्री परिषद् बैठकले विज्ञान दिवस मनाउने निर्णय गरेको थियो । ०७० असोज १ गतेबाट दिवस मनाउन शुरु गरिएको हो ।

दिवसका अवसरमा विभिन्न संस्थाहरुको सहकार्यमा मन्त्रालयले ३० शिर्षकमा छुट्टा छुट्टै कार्यक्रम गर्ने भएको छ । जस अनुसार विज्ञान हाजिरी जवाफ, जिवन्ध, कविता, आर्ट, विज्ञान सम्बाद, एडभान्स टेक्नोलोजी सम्बन्धि प्रदर्शनी, महिलाहरुलाई रोबोटिक्स तालिम, सञ्चार माध्यामहरुमा विज्ञान सम्बन्धि परिसम्वाद, सेमिनार लगायतका कार्यक्रम हुने अर्यालले जानकारी दिए ।

मन्त्रालयका विज्ञान तर्फका सचिव डा। सञ्जय शर्माले पछिल्लो समय विज्ञान प्रविधिको खोजमा बढ्दो युवाहरुको चासो र संलग्नताले नयाँ खोज र अनुसन्धानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विज्ञान प्रविधि नीति मन्त्रीपरिषद्बाट पास हुने चरणमा रहेको बताउँदै उनले उक्त नीति सँगै रणनीतिक योजना निर्माणमा मन्त्रालय जुट्ने बताए ।

दिवसको मुख्य दिन असोज १ गते हुने मूल समारोहमा ति विद्यार्थी सहित विज्ञानमा कलम चलाउने २ जना पत्रकार र दिवसका अवसरमा भएका विभिन्न कार्यक्रममा विजयी हुनेहरुलाई समेत पुरस्कृत गर्ने कार्यक्रम छ ।

Loading...