अझै औषधि आपूर्ति हुन सकेन जाजरकोट अस्पतालमा

जाजरकोट, २८ भदौ । जाजरकोट जिल्ला अस्पतालमा औषधि अभाव भएको तीन हप्ता भए पनि औषधि आपूर्ति हुन सकेको छैन । अस्पतालमा दैनिक बिरामी बढ्दै तर औषधि घट्दै जाँदा उपचारमा समस्या भएको हो । दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायतका बिरामीको चाप बढ्दै गएको भए पनि औषधि नहुँदा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ । अस्पतालले नयाँ आर्थिक वर्ष शुरु भएको दुई महीनासम्म पनि औषधि खरीद नगर्दा अभाव भएको हो ।

जिल्ला अस्पतालमार्फत सरकारले ७२ प्रकारका औषधि निःशुल्क दिने भने पनि यतिबेला सिटामोल, आइरन चक्की, ब्रोफिन, रेनीटेडीन, मेट्रो, एमोक्सीसिलीन, भुस्कोपान, कोर्टीन, भिटामिन बी कम्प्लेक्स, क्यामामीन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आरएल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रो, एसिलक, पोन्टक्सलगायतका अत्यावश्यक औषधिको अभाव भएको छ ।

मौसम परिवर्तन भएसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो छ तर निःशुल्क पाउने औषधिसमेत नपाउँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ६०÷७० जना भाइरल ज्वरोका मात्र बिरामी आउने गरेका छन् । भेरी नगरपालिका–२ कि कमला थापालाई टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि जिल्ला अस्पताल आएर जाँच गरेर डाक्टरले औषधि लेखिदिए । तर, अस्पतालमा उनले कुनै पनि औषधि पाइनन् । सिटामोलसमेत अस्पतालमा नभएपछि निजी मेडिकलमा किन्नुपरेको उनको गुनासो छ ।

अस्पतालको फार्मेसीमै औषधि नभएपछि उनी निजी औषधि मेडिकल जान बाध्य भएको बताईन् । केही समय पहिले कुनै पनि औषधि बाहिर किन्नु पर्दैन्थ्यो सबै निःशुल्क पाइन्थ्यो तर, अहिले सबै औषधि किनेर खानुपर्ने बाध्यता छ उनले भनिन् । उनी मात्र होइन उपचारका लागि जिल्ला अस्पताल पुग्ने बिरामी औषधि नपाउँदा समस्यामा पर्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका र सधैँजसो निशुल्क औषधि पाइरहेकाले नपाउँदा साँचिकै समस्यामा परेको स्थानीय धर्मराज परियारले बताए ।

अस्पतालमा गज, कटन, ग्लोब्स र आरएलसमेतको अभाव भएको छ । लेखापाल नहुँदा ल्याब सेवासमेत बन्द हुने अवस्थामा पुगेको छ । ल्याबका लागि आवश्यकपर्ने कीटसमेत सकिएको छ डा कार्कीले भने, “हामीलाई काम गर्न निकै गाह्रो भयो ।” औषधि खरीदका लागि बजेट आए पनि लेखामा काम गर्ने लेखापाल नहुँदा समस्या परेको छ, औषधि खरीदका लागि बजेट निकासा भइसकेको भए पनि लेखापाल नहुँदा औषधि खरीद गर्न सकिएको छैन ।” अस्पतालमा लेखापालको दरबन्दी भए पनि दुई वर्षदेखि पदपूर्ति हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रकको कार्यालयले तलब खुवाउन काजमा पठाउने गरे पनि असारदेखि लेखापाल आएका छैनन् । लेखापाल नहुँदा स्वास्थ्यकर्मीले साउनदेखि तलब भत्तासमेत खान पाएका छैनन् ।

निःशुल्क औषधि पाउन बानी परेका स्थानीय सेवाग्राहीले औषधि नपाएकामा गुनासो गर्न थालेका छन् । स्थानीय कालीबहादुर खड्काले भने, “सामान्य रोगको पनि उपचार हुँदैन, यो अस्पतालले निःशुल्क पाइने औषधि पनि दिँदैन, जिल्ला अस्पताल प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा गएपछि झन अस्तब्यस्त भएको छ । न समयमा औषधि आपूर्ति हुन्छ न उपकरण र दक्ष जनशक्तिको पदपूर्ति नै ।” धेरै स्वास्थ्यकर्मी समायोजन भएर अनेत्र गइसकेका छन् । पचास श्ययाको भनिएको यो अस्पताल नाम मात्रको छ न आवश्यक औषधि पाइन्छ, न दक्ष जनशक्ति नै स्थानीय धनबहादुर खड्काले भने, “एउटा स्वास्थ्य चौकीले दिनेजति सेवा पनि पाइँदैन ।”

अन्य मेडिकलभन्दा सस्तो र सहजरुपमा औषधि उपलब्ध गराउन सरकारले स्थापना गरेको फार्मेसीमै औषधि सकिएपछि थप समस्या भएको छ । लेखापालको तत्काल व्यवस्था गर्न भन्दै कोलेनिकादेखि प्रदेश मन्त्रालय धाउँदासमेत सुनुवाइ भएन अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले भनिन्, “अस्पतालमा डाक्टरलाई काम गर्ने वातावरण नै छैन । उपकरण, सेवा सुविधा र पूर्वाधार नहुँदा कसरी काम प्रभावकारी हुन्छ ?” लेखापालको अभावले आर्थिक कारोबार हुन नसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सबैभन्दा ठूलो मारमा स्वास्थ्य बीमा गरेर पनि औषधि नपाउने अवस्था छ ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शुक्रबार जिल्ला अस्पतालको अवस्था निरीक्षण गरेका छन् । आफूले अस्पतालको अवस्था निरीक्षण गरेको विषयलाई स्वास्थ्य सेवा सुधारका लागि सकारात्मक भूमिकाका रुपमा बुझ्न प्रजिअ पन्तले सबैलाई आग्रह गरे ।

Loading...