सिमेन्टको गुणस्तरमा हेरफेर भएको छैन स् विभाग

काठमाडौँ, २७ भदौ । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै हेरफेर नभएको बताएको हो ।

छिमेकी राष्ट्र भारतमा समेत सिमेन्टको गुणस्तर आइआरको मान दुई प्रतिशत रहेको अवस्थामा नेपालमा गुणस्तर निर्धारण गर्दा दुई प्रतिशत कायम रहेको थियो । हाल संशोधनपश्चात् भारतीय गुणस्तरमा आइआरको मान पाँच प्रतिशत रहेको र नेपाल गुणस्तर ४९।२०७६ मा पनि ३३ ग्रेडको हकमा चार प्रतिशत र ४३ र ५३ ग्रेडको हकमा तीन प्रतिशत अघुलनशील पदार्थको मान कायम गरिएको विभागका महानिर्देक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

गुणस्तरको सूचाङ्कमा हेरफेर गरी मिसावट गर्न छुट दिएको जस्तो गरी भ्रम सिर्जना गर्न खोजिएको विषयमा कुनै सत्यता नरहेको विभागको भनाइ छ । “ओपिसी सिमेन्टमा क्लिंकर एवं जिप्सन बाहेकका कुनै पनि गैर कच्चा पदार्थ विगतमा पनि प्रयोग गर्ने छुट छैन र हाल पनि छैन”, महानिर्देशक पुडासैनीले भने ।

यसअघि नेपाल गुणस्तर ४९ मा म्याग्नेसियमको मान पाँच प्रतिशत रहेकोमा ३३ ग्रेडको हकमा ६ प्रतिशत र ४३ तथा ५३ ग्रेडको हकमा ५ प्रतिशत नै कायम गरिएको छ । भारतीय सिमेन्टको गुणस्तरमा म्याग्नेसियमको मान ३३, ४३ र ५३ ग्रेड सबैको हकमा ६ प्रतिशत नै कायम गरिएको विभागले जनाएको छ ।

सिमेन्ट मापदण्ड संशोधनपछि विगतमा ३३ ग्रेडको मात्र गुणस्तर रहेकोमा हाल ४३ र ५३ ग्रेड जस्तो उच्च गुणस्तरसमेत मापदण्डमा समावेश भएकोले सिमेन्टको गुणस्तरमा अझ वृद्धि हुने विभागको भनाइ छ ।

Loading...