भोलि सार्वजनिक विदा

काठमाडौं, २६ साउन । नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि भोलि सार्वजनिक विदा दिइएको छ । राष्ट्रिय मौलिक पर्व का रुपमा रहेको (इन्द्रजात्रा) लाई यस वर्ष अन्तर्राष्ट्रिय महत्व दिने गरी मनाउने सरकारले समेत योजना बनाएको छ ।

सरकारले इन्द्रजात्राका अवसरमा उपत्यकामा सार्वजनिक विदा दिएको हो । भोलि शुक्रबार इन्द्रजात्राका लागि सार्वजनिक विदा भएको र पर्सी शनिवार भएकोले अब आइतबार मात्र सरकारी कामकाज सूचारु हुने भएका छन् । कतिपयले सरकारले धेरै स्थानीय पर्वहरुमा दवावका कारण विदा दिने गरेको भन्दै आलोचना पनि गर्ने गरेका छन् । तर, इन्द्रजात्राका लागि भने सरकारले उपत्यकाका लागि मात्र विदा दिनेगरी वार्षिक विदामै पारेको छ ।

वार्षिक विदा नै दिएर मनाउन थालिएको यस पर्वलाई यस वर्ष विशेष महत्वका साथ मनाउन थालिएको छ । यसपटक इन्द्रजात्राको अवलोकन गर्न विश्वका विभिन्न मुलुकका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयर सहित ४८ जना आउन लागेका छन् । उनीहरु काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्राको अवलोकन गर्न आउन लागेका हुन् ।

महानगरले आउदै गरेको नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुग्ने उद्देश्यले विदेशका विशिष्ट पाहुनाहरुलाई इन्द्रजात्राकै अवसरमा बोलाएको हो । यसले नेपालको साँस्कृतिक पर्यटन विकासमा समेत योगदान रहने महानगरले अपेक्षा गरेको छ । यसक्रममा विदेशी पाहुनालाई नेपाललाई चिनाउने कला, साँस्कृतिक, परम्परागत र रितिरिवाज चिनाउने गरी कार्यक्रम गरिने बताइएको छ । इन्द्रजात्राको अवलोकनसँगै उनीहरुलाई राजधानीको भित्रि शहरका सम्पदाहरु, विश्व सम्पदा सूचीमा सुचीकृत स्वयम्भु महाचैत्य, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र लगायतका महत्वपूर्ण स्थानको अवलोकन गराइने महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलन गरी भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने जानकारी दिएका हुन् । उनले भने, “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण गरिएको छ । यो कार्यक्रमबाट नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ ।”

पाँच दिनसम्म बस्ने उनीहरुलाई विभिन्न स्थानमा घुमाउने योजना तय भएको छ । महानगरपालिकाका बहाल, बहीसँगै काठमाडौँ जिल्लाका अरु नगरपालिका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका घुमाउने गरी योजना बनाइएको प्रमुख शाक्यले बताए ।

उनले भने, “महानगरपालिकाले यसका लागि गरिने खर्च पर्यटन प्रवद्र्धनका लागि महानगरको लगानी हो, यो लगानीबाट भोलि उपत्यकावासीले लाभ पाउनेछन् ।” यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका छ देशका १३ वटा नगरबाट ४८ पाहुना आउने निश्चित भएको प्रमुख शाक्यले बताए । सात महीना पहिलेदेखि नै इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगरप्रमुखलाई निमन्त्रणा पठाउन थालिएको थियो । निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद शहीद खोकन, भूटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेशनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वमा टोली आउने बताइएको छ ।

चीनबाट सियान, छेन्दु, सेञ्जेन, नाञ्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा टोली आउने महानगरले जनाएको छ ।

बिहीबार आइपुग्ने पाहुनालाई शुक्रबार हनुमानढोका आसपास कुमारी रथयात्रामा सहभागी गराइने प्रमुख शाक्यले जानकारी दिए । सो क्रममा तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्याह्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथयात्राको प्रत्यक्ष अवलोकन गराइनेछ । आगामी शनिबार चन्द्रागिरि, छाउनीको प्राकृतिक सङ्ग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना बनाइएको छ । आइतबार भक्तपुर र पाटन दरबार क्षेत्रको भ्रमण अवलोकन गराइने त्यसै दिन साँझ बिदाइ गरिने प्रमुख शाक्यले बताए । त्यस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी हुनुहुनेछ ।

अन्तरराष्ट्रिय जगत्मा इन्द्रजात्राको मौलिक र दार्शनिक पक्षको उजागर गर्न मात्र नभएर नगरवासीको सभ्यता चिनाउने कामका लागि पनि सबै मिलेर लाग्नुपर्नेमा प्रमुख शाक्यको जोड छ । यो पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउँदै व्यापक बनाउने महानगरको योजना छ । उनले भने, “नेवार समुदायको मात्र होइन, यो सबै नेपालीको राष्ट्रिय पर्व हो भन्ने भावना जागृत गराउनुपर्छ ।”

मङगलबार बिहान ९ बजेर १७ मिनेटको साइतमा वसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज (नेपाल भाषामा यः सी) ठड्याएपछि यस वर्ष इन्द्रजात्राको कार्यक्रम विधिवत् शुरु भएको छ । इन्द्रध्वज ठड्याउनुअघि नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेका थिए । हिजो नै नेवार समुदायका मानिसले काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाए । हिजै साँझ गणेश र भैरवलाई कुमारी घरमा ल्याइयो । त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी भित्र लगेर तलेजु भवानीलाई निम्तो दिइयो । सरकारले गत सोमबार एकादशीका दिन आफ्नोतर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिइएको थियो ।

यस वर्ष शुक्रबार कुमारी रथयात्रा शुरु गरेर वसन्तपुरबाट तल्लो टोलमा रथयात्रा गरिनेछ । त्यसक्रममा साँझ साढे ४ बजे राष्ट्रपति वसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ । शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ । यस अवधिमा लाखे, हलचोक भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक विद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् । मङ्गलबार हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ९ः३५ को साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षका लागि जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछ ।

Loading...