संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

अत्तरिया, २५ भदौ । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।

दरबार संरक्षणमा ध्यान नदिँदा दिन प्रतिदिन भत्किने क्रममा रहेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय संभावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएको चुरे गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण मल्लले बताए ।

उनका अनुसार दरबार संरक्षण गर्नसके पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । ऐतिहासिक दरबार संरक्षण गर्न कसैबाट पहल भएको देखिँदैन । स्थानीय बासिन्दाले ऐतिहासिक दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आएका छन् ।

राणाकालीन दरबार जीर्ण हुँदै जाँदा दरबारमा पछि लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ । लामो समयदेखि भवन प्रयोगविहीन बनेपछि भत्किँदै गएको स्थानीयको भनाइ छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन शुरू भएको वडाध्यक्ष मल्लको भनाइ छ ।

राणा शासनकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । खड्क शम्शेरका छोरा बहादुर शम्शेरपछि गर्भा दरबार बहादुर शम्शेरका साहिँला छोरा तेजप्रकाश शम्शेर जबराको भागमा परेको स्थानीय जानकार बताउँछन् । उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेको बताइन्छ ।

हावापानी, मौसम र भौगोलिकरूपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीय बासिन्दाको छ । मास पिसेर त्यसबाट चुना लगाई निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङसमेत बनाइएको छ ।

सुरुङ अहिले पुरिँदै गएको छ । राणा शासक खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।

दशकौँ पुरानो राणाकालीन दरबार संरक्षण गर्नसके पर्यटकीय क्षेत्रको रूपमा समेत विकास गर्न सकिने संभावना रहेको छ । ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन ।

चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताए । उनका अनुसार गर्भादरबार संरक्षणका लागि पालिकासँग पर्याप्त बजेट छैन । दरबार संरक्षणका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको रोकामगरले बताए ।

गत आव दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ६० लाख बजेट विनियोजित गरेको प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीले जानकारी दिए ।

आवको अन्तिममा बजेट निकासा भएको र पर्याप्त समय नहुँदा विनियोजित बजेट ‘फ्रिज’ भएको उनको भनाइ छ । दरबार संरक्षण र मर्मतका लागि चालू आवमा रु ५० लाख बजेट विनियोजन गरिएको सोडारीले बताए ।

चुरे क्षेत्रमा पर्ने राणाकालीन दरबारको संरक्षणमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार गर्न सकिने प्रबल सम्भावना रहेको उनको भनाइ छ ।

Loading...