प्रत्यक्ष संवाद प्रविधिको शुभारम्भ

विराटनगर, २४ भदौ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय दिवस तथा संविधान दिवस भव्य एवं रचनात्मक तरिकाले मनाउन निर्देशन दिएका छन । आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं १ विराटनगर र प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयबीच प्रत्यक्ष संवाद कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उनले सो निर्देशन दिएका हुन ।

मन्त्री कार्कीले वर्तमान परिप्रेक्ष्यमा प्रविधिको उच्चतम उपयोग गर्न यो प्रविधि सञ्चालनमा ल्याइएको जानकारी दिँदै जिल्लामा शान्तिसुरक्षा कायम गर्न र अन्य क्रियाकलाप स्थानीय प्रशासन चनाखो हुनुपर्ने निर्देशन दिए । उनले यही भदौ २८ गते विराटनगरमा हुने सुरक्षा परिषद्को बैठकमा बाढीपहिरो र अन्य प्राकृतिक विपद्का क्षेत्रमा भएको कार्यको विस्तृत जानकारी लिएर आउन निर्देशन दिए ।

मन्त्री कार्कीले डेङ्गुु रोगको उपचारमा भएका प्रगति, कोशीपीडित परिवारको वर्तमान अवस्था, चाडपर्वको समयमा हुने महँगी र कालोबजारी नियन्त्रण गर्न, ‘म अघि बढ्छु’ कार्यक्रममा भएका प्रगति तथा सडक सुशासनमा भएका कामका विस्तृत विवरण सुरक्षा परिषद्को बैठकमा पेश गर्न पनि निर्देशन दिए । यस्तो प्रविधिको प्रयोगबाट प्रदेशभरिमा एकैपटक सूचना, निर्देशन र प्रगतिका बारेमा जानकारी लिन र दिन मद्दत पुग्ने भन्दै मन्त्रालयबाट तत्काल एकैपटक दिने निर्देशन सम्बन्धित ठाउँमा पुग्न पनि सुविधा हुने कुरामा जोड दिए ।

Loading...