विपत्जन्य फोहरमैला व्यवस्थापनमा जोड

काठमाडाँै, २४ भदौ । विपत् जोखिमको दृष्टिकोणबाट नेपाल विश्वभर ११औँ स्थानमा पर्छ । बर्सेनि हुने प्राकृतिक एवम् अन्य विपत्बाट देशभर ठूलो जनधन र भौतिक पूर्वाधारको क्षति हुने गरेको छ । प्रत्येक विपत्पश्चात् ठूलो मात्रामा विपत्जन्य फोहरमैलासमेत उत्पादन हुन्छ ।

मुलुक अहिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पतर्फ अघि बढिरहेको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा संयुक्त राष्ट्रसङ्घले निर्दिष्ट गरेको दिगो विकास लक्ष्यलाई प्राप्त गरी तीव्र आर्थिक वृद्धिमार्फत यो राष्ट्रिय सङ्कल्प हासिल गर्ने उद्देश्य राखेको छ । फोहरमैला व्यवस्थापन दिगो विकास लक्ष्यको महत्वपूर्ण पाटो हो ।

विपत्जन्य फोहरमैला व्यवस्थापनको विषय नेपालमा विशेषगरी २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि प्रमुख सार्वजनिक चासोका रुपमा आएको हो । देश सङ्घीय संरचनामा गइसकेपछि अहिले सङ्घीय, प्रदेश र स्थानीय तह नयाँ ऐन, कानून र नीति, निर्माणमा जुटेका छन् । कतिपय स्थानीय तह फोहरमैला व्यवस्थापनसम्बन्धी आ–आफ्नो कानून, नीति, रणनीति तथा निर्देशिका तर्जुमा गर्ने चरणमा छन् । स्थानीय तहले फोहरमैला व्यवस्थापन नीति निर्माण गर्दै गर्दा विपत्जन्य फोहरमैला व्यवस्थापनको विषयमा पनि त्यसमा समावेश गर्न जापानी विज्ञले सुझाव दिए ।

वातावरण तथा विकासका लागि नेतृत्व’ नामक संस्थाद्वारा आज यहाँ आयोजना गरिएको ‘विपत्जन्य फोहरमैला व्यवस्थापन निर्देशिकासम्बन्धी प्रशिक्षण कार्यशाला’मा सहभागी सरोकारवाला संस्थाका प्रतिनिधि एवम विभिन्न मन्त्रालयका अधिकारीले पनि सो विषयमा जोड दिएका छन् ।

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले निर्देशिका तयार भइसकेपछि त्यसलाई स्थानीय तहसम्म कार्यान्वयनका लागि वितरण गरिने र स्थानीय तहले पनि निर्देशिकालाई स्थानीयकरण गर्न सक्ने जानकारी दिए ।

प्रशिक्षण कार्यशालामा विपत्जन्य फोहरमैला व्यवस्थापन विषयका जापानी विज्ञ ‘एनटिटी डाटा इन्स्टिच्युट अफ म्यानेजमेन्ट कन्सट्रक्शन’का सिन्तारो हिगासी र मिसुजु असारीले एशिया तथा प्रशान्त क्षेत्रका लागि तयार पारिएको विपत्जन्य फोहरमैला व्यवस्थापन मार्गदर्शनमा आधारित भई प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणका क्रममा उनिहरुले विपत्जन्य फोहरमैला व्यवस्थापनसम्बन्धी जापानलगायत एशिया प्रशान्त क्षेत्रका विभिन्न देशले अवलम्बन गरेका प्रणाली, प्रक्रिया र नीतिबारे चर्चा गरेका थिए ।

यस्तै सो कार्यशालामा आयोजक संस्थाका डा सुमित्रा अमात्य र करुणा अधिकारीले क्रमशः नेपालको सन्दर्भमा विपत्जन्य फोहरमैला व्यवस्थापन राणनीति र नीतिगत सुझाव तथा विपत्जन्य फोहरमैला आधारभूत अध्ययन नतिजा र नेपालको सन्दर्भमा विपत्जन्य फोहरमैला व्यवस्थापन निर्देशिका विषयमा प्रस्तुतीकरण गरेका थिए । संस्थाको सहयोगमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपत्जन्य फोहरमैला व्यवस्थापनसम्बन्धी निर्देशिका निर्माण गरिरहेको सन्दर्भमा प्रशिक्षण कार्यशाला आयोजना गरिएको सो अवसरमा जानकारी दिइएको थियो । यसअघि संस्थाले मन्त्रालयको निम्ति विपत्जन्य फोहरमैला व्यवस्थापन रणनीति र आधारभूत अध्ययन प्रतिवेदन निर्माण गरिसकेको छ । निर्देशिकामा समावेश गर्नुपर्ने विभिन्न विषयमा सहभागीले समूहगत छलफलमार्फत सुझाव प्रस्तुत गरेका थिए ।

Loading...