तालिबानसँग वार्ता पुनः शुरु हुने अमेरिकी विदेशमन्त्रीको भनाई

वासिङ्टन, २३ भदौ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्तराज्य अमेरिका र अफगानिस्तानका विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता शुरु हुने विश्वास व्यक्त गरे । अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा तालिबानको कारबम आक्रमणका कारण एक अमेरिकी सैनिकको मृत्यु भएपछि हालका लागि वार्ता “मृततुल्य” भएको बताए । “मलाई विश्वास छ चाँडै वार्ता पुनः शुरु हुनेछ,” पोम्पेओले भने ।

उनले वार्ताका क्रममा तालिबान समूहले देखाएको लचकता व्यवहारमा नदेखिएको गुनासो गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिबार अफगान विद्रोही तालिबान र अफगान सरकारका प्रतिनिधिसँग अमेरिकाको क्याम्प डेभिडमा आयोजना गर्न लागेको गोप्य बैठक एकपक्षीय रुपमा रद्द गरेका थिए ।

राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका थिए । शनिबार ट्वीट गर्दै उनले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरे । आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भिषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।

एएफपीका अनुसार अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो । अल–कायदा र तालिबान विरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

अफगान मामिलासम्बन्धी अमेरिकी विशेषदूत जाल्मे खलिलजादले हालै मात्र तालिबान समूहसँगको वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिए । तर राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदहरुले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका थिए ।

ट्रम्पले ट्वीटमा भनेका छन, “मुख्य तालिबान नेताहरु र अफगानिस्तानका राष्ट्रपतिसँग अलग्गै आइतबार क्याम्प डेभिडमा गोप्य भेटघाटको समय मिलाइएको थियो, र यसलाई गोप्य राखिएको थियो ।” “उनीहरु संयुक्तराज्य अमेरिका आजै राति आउँदै थिए । दुर्भाग्यवस, उनीहरुले काबुलमा आक्रमण गरे जसका कारण एक जना बहादुर अमेरिकी सैनिक र अरु ११ जनाको मृत्यु भयो । मैले तत्कालै बैठक रद्द गरें र वार्ता प्रक्रिया रोकेको छु,” ट्रम्पले लेखे ।

तालिबान समूहले गत बिहीबार काबुलको अमेरिकी राजदूतावास नजिकै गरेको कारबम बिस्फोटमा एक जना अमेरिकी सैनिक, नेटो सम्बद्ध एक रोमानियाली सैनिक र १० जना सर्वसाधारणको ज्यान गएको थियो । अमेरिका–तालिबान वार्ता जारी रहेकै अवधिमा पछिल्ला केही दिनदेखि तालिबानले देशव्यापी रुपमा शृंखलाबद्ध बम बिस्फोट गराइरहेको छ । तालिबान समूहले अमेरिकाले वार्ता स्थगित गरेमा त्यसबाट अमेरिकालाई नै बढी क्षति हुने चेतावनी दिएको छ ।

Loading...