अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द”

वासिङ्टन, २२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताए । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका छन । शनिबार ट्वीट गर्दै उनले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरेका छन ।

राष्ट्रपति ट्रम्पको शनिबारको उक्त ट्वीट आश्चर्यजनक मानिएको छ । किनभने राष्ट्रपति स्वयम्ले अफगानी विद्रोही र अरु नेताहरुलाई राष्ट्रपति निवासको भोजमा निमन्त्रणा दिएका थिए । आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भिषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।

अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो । अल–कायदा र तालिबान विरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

अफगान मामिलासम्बन्धी अमेरिकी विशेषदूत जाल्मे खलिलजादले हालै मात्र तालिबान समूहसँगको वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । तर राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदहरुले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका थिए ।

ट्रम्पले ट्वीटमा भनेका छन, “मुख्य तालिबान नेताहरु र अफगानिस्तानका राष्ट्रपतिसँग अलग्गै आइतबार क्याम्प डेभिडमा गोप्य भेटघाटको समय मिलाइएको थियो, र यसलाई गोप्य राखिएको थियो ।”

“उनीहरु संयुक्तराज्य अमेरिका आजै राति आउँदै थिए । दुर्भाग्यवस, उनीहरुले काबुलमा आक्रमण गरे जसका कारण एक जना बहादुर अमेरिकी सैनिक र अरु ११ जनाको मृत्यु भयो । मैले तत्कालै बैठक रद्द गरें र वार्ता प्रक्रिया रोकेको छु,” ट्रम्पले लेखेका छन ।

बिहीबार, तालिबानले काबुलको अमेरिकी राजदूतावास नजिकै गरेको कार बम बिस्फोटमा एक जना अमेरिकी सैनिक, एक जना रोमानियाली सैनिक र १० जना सर्वसाधारणको ज्यान गएको थियो । अमेरिका–तालिबान वार्ता जारी रहेकै अवधिमा पछिल्ला केही दिनदेखि तालिबानले देशव्यापी रुपमा शृंखलाबद्ध बम बिस्फोट गराइरहेको छ ।

अमेरिका–तालिबानबीचको वार्ता समाप्त भएको हो वा स्थगित मात्र भएको हो भन्ने स्पष्ट भइसकेको छैन । राष्ट्रपति ट्रम्पले ट्वीटबाट वार्ता भङ्ग भएको जनाए पनि अमेरिकी विशेषदूत खलिलजादले बिहीबार र शुक्रबार कतारको दोहामा तालिबान समूहका नेताहरुसँग परामर्श गर्ने कार्यक्रम छ ।

अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसले उक्त विषयमा स्पष्ट गरेका छैनन् । यस बारेमा अफगान सरकारले पनि केही बताएको छैन ।तालिबानका एक प्रवक्ता जबिहुल्लाह मुजाहिदले क्याम्प डेभिड बैठकका बारेमा ट्रम्पको भनाई बारे आफूलाई स्पष्ट भइनसकेको बताए । उनले अमेरिकी भनाई बारेमा अहिल्यै प्रतिक्रिया नदिने बताए । उनले भने यो राजनीतिक मामिला हो । हामी हाम्रा नेताहरुको प्रतिक्रियाको पर्खाईमा छौं ।

Loading...