वाग्मतीलगायत नदी र चक्रपथ सफाइ अभियान जारी

काठमाडौँ, २१ भदौ । उपत्यकाका सभ्यताका स्रोतका रुपमा रहेका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानको ३३०औँ हप्तामा त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा १९ संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् । अभियानमा पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, पूर्वसचिव किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणालगायत अभियानकर्मीको पनि सक्रियता थियो ।

मुहानदेखिकै वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले भदौ १३ गतेको गोकर्णे औँसीको मेलामा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएको फोहर व्यवस्थापन सम्पन्न गरेको जनाएको छ । यस क्षेत्रको वाग्मती सफाइको २९२औँ हप्तामा कुहिने फोहर जति कम्पोष्टविनमा राखी नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । मञ्चले गुह्येश्वरीभन्दा माथिको वाग्मतीमा सफाइ अभियान चलाउँदै आएको छ ।

आइबार बिहान कागेश्वरी महादेव मन्दिरमा पनि सफाइ अभियान गर्न लागिएको मञ्चले जनाएको छ । शुक्रबार कागे अष्टमीका अवसरमा यहाँ तीनदिने मेला आयोजना गरिएको छ । मेलामा भाग लिएका लाखौँ भक्तजनका कारण शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको यो क्षेत्र फोहर बनेको छ ।

विष्णुमती सफाइको २५७औँ हप्तामा टोखा नगरपालिका–९, १० र ११ एवं विष्णुमती सफाइ अभियानको संयुक्त आयोजनामा त्यस क्षेत्रमा सफाइ गरियो ।

सफाइमा सांसद भीमसेनदास प्रधानले सचेतना गरेर नदी एवं सार्वजनिक स्थलमा फोहर नफाल भनेपछि फाल्नेलाई कानूनीको कारवाहीको दायरामा ल्याउन स्थानीय सरकार लाग्नुपर्ने बताए । नदी र सार्वजनिक स्थानमा फोहर फाल्नु नैतिकता विपरीतको काम हो भनी नबुझ्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनुको विकल्प नहुने उनको भनाइ थियो ।

सफाइमा नगरपालिका–९, १० र ११ का वडाध्यक्षहरु क्रमशः जेपी नेपाल, मधुसूदन पाण्डे र उत्तम अधिकारीले नदी, सडकलगायत सार्वजनिक स्थान सफा राख्ने दायित्व सबै नागरिकको भएकाले फोहर फाल्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।

सफाइ संयोजक शोभाकान्त पाण्डेले सांसद प्रधानसँग सफा नेपाल अभियानका लागि संसद्मा आवाज उठाउन माग गरे । घर एवं पसलधनीलाई कम्पोष्ट मल राख्ने भाँडो र फोहर राख्ने भाँडो वितरण गरी फोहर व्यवस्थापन गर्न पनि आग्रह गरे ।

मनोहरा नदी सफाइको १२९औँ हप्तामा महानगरपालिका–३२ बालकुमारी पुल क्षेत्रमा सफाइ गरियो । जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालको समेत सफाइमा सक्रियता थियो । सफाइबाट पाँच टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

चक्रपथ उत्तर क्षेत्र सफाइको १२७औँ हप्तामा वसुन्धराबाट चक्रपथसम्म सफाइ गरियो । करीब २०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट नौ टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–३१ आलोकनगर क्षेत्रमा पनि १२७औँ हप्ताको सफाइ कार्यक्रम गरियो । अभियानकर्मी जम्मा भई सडकमा जम्मा भएको फोहर टिपी व्यवस्थापन गर्नाका साथै सचेतनामूलक कार्यक्रम पनि गरिएको संयोजक प्रमिला पौडेलले बताइन् ।

चक्रपथ पश्चिम खण्ड सफाइको १०९औँ हप्तामा मकालु यातायात अघिबाट स्युचाटार पुलसम्मको क्षेत्रमा सफाइ गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले महानगरपालिकाले गर्नुपर्ने काम अभियानकर्मीले गरेको भन्दै खुशी व्यक्त गरे । जिल्ला समन्वय समितिले सफाइ अभियानलाई सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता थियो । आजको यस क्षेत्रको सफाइबाट दुई ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले सुनाए ।

यसैगरी आज वाग्मतीको तिलगङ्गा, गुह्येश्वरी र सुन्दरीघाट, रुद्रमती र ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान फैलिएर हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफा गर्ने जागरण आरम्भ भएको छ ।

Loading...