आज रातिदेखि टेलिकमको मोबाइलमा फोन नलाग्न सक्ने, टेलिकमले सूचना जारी गर्दै माग्यो अग्रिम माफी

काठमाडौं, २१ भदौ । नेपाल टेलिकमले आज शनिबार रातिदेखि देभभर जिएसएम सेवामा समस्या आउनसक्ने जनाएको छ । जसका कारण धेरैको टेलिफोन तथा मोवाइल सेवामा समस्या आउने भएको छ ।

टेलिकमले मोबाइलको क्षमता फोरजीमा विस्तार गर्न लागेको जानकारी गराउँदै अपग्रेड गर्दा सेवामा केही समय समस्या आउनसक्ने जनाएको हो । एक सूचना जारी गर्दै टेलिकमले आज राति ११ः३० बजेपछिको समयमा यस्तो समस्या आउनसक्ने जनाएको हो ।

टेलिकमले सेवा विस्तारका क्रममा आउन सक्ने प्राविधिक समस्याबाट उत्पन्न हुने असुविधाप्रति ग्राहकसँग अग्रिम क्षमा पनि मागेको छ । प्रविधि अपग्रेड भइसक्दा पनि कतिपयको मोवाइल वा टेलिफोन चल्न नसक्ने हुनसक्ने देखिएको छ । यदि मोबाइल सेवामा अवरोध आएमा एकपटक मोबाइलको स्वीच अफ गरेर पुनः अन गर्दा सुचारु हुने टेलिकमद्वारा सेवाग्राहीका लागि जारी गरिएको सूचनामा उल्लेख छ ।

टेलिकमले जारी गरेको सूचनामा भनिएको छ, “प्रविधिमा आएको परिवर्तन अनुरुप कम्पनीले सेवाग्राहीहरुलाई समय सापेक्ष नविन प्रविधिमा आधारित सेवाहरु उपलब्ध गराउन प्रयास गरिरहेको छ । यही प्रयास स्वरुप देशभर  4G/LTE सेवा विस्तार गर्ने कार्य जारी रहेको व्यहोरा हाम्रा सेवाग्राहीहरुमा सहर्ष जानकारी गराउन चाहन्छौ ।

4G/LTE सेवा सञ्चालनको लागि यही मिति २०७६ साल भाद्र २१ गते राति ११ः३० बजेदेखि सिस्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुनसक्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

सेवा प्रयोगमा कुनै कठिनाई आएमा आफ्नो मोवाइलको पावर स्वीच अफ गरी पुन स्वीच अन गर्नहुन अनुरोध छ । यसबाट हाम्रा ग्राहक महानुभावहरुमा पुग्न सक्ने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।

यस्तो छ टेलिकमको सूचना

Loading...