सेवानिवृत्त प्रधानाध्यापकसहित तीनमाथि अख्तियारले लगायो मुद्दा

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ ।

आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ ।

भण्डारीले सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोटका प्रधानाध्यापक हुँदा स्थायीरूपमा शिक्षक भई अध्यापन गर्दाको बखत ३ वर्षे बेतलवी बिदा लिई बैदेशिक रोजगारको लागि मलेशिया गएको र सेवानिवृत हुने समयमा सो अवधिसमेत गणना गरेको साथै आफू सोही विद्यालयको प्रअ हुँदा सवै कागजात नष्ट गरेको आरोप लगाइएको छ ।

सुलक्षणा माविका स्थायी शिक्षक केशव बहादुर बस्नेतले नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने र प्रतिवादी हरिराम भण्डारीलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले कार्य गरेको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ ।

यस्तै विद्यालय निरीक्षक कुमार प्रसाद तिमिल्सिनाले भण्डारी पटक पटक गरी ३ वर्ष असाधारण बिदा लिई बसेको अवस्थामा कुनै पनि बिदा नलिएको व्यहोरा उल्लेख गरी विद्यालयले निवृत्तभरण प्रयोजनका लागि तयार पारेको बिदाको फारममा सिफारिस गरी जिल्ला शिक्षा अधिकारीसमक्ष पेश गरेको रसरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले कार्य गरेको पुष्टि हुन आएको अख्तियारले स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले तीनै जनामाथि छुट्टाछुट्टै २३ हजार ९९९ रुपियाँ बिगो कायम गरी सजायको माग गरिएको बताए । भण्डारीले बिदामा बसेको बखतको सेवा सुविधा लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

यस्तो छ अख्तियारको आरोप पत्र

Loading...