छ माया छपक्कैले उत्साहित रोहित

युवा चलचित्रकर्मी रोहित अधिकारी यतिबेला निकै उत्साहका साथ आफ्नो दोस्रो फिल्म छ माया छपक्कैको प्रचार अभियानमा जुटेका छन् । भाद्र १३ गते रिलिज भएको जूनको जुनेली बोलको गीतको उत्साहजनक प्रतिक्रियाले उनलाई निकै हौस्याएको छ । ‘गीत निकै मन पराइयो । खुशी लागेको छ ।’ रोहितले प्रतिक्रिया जनाए ।

जूनको जुनेली गीतमा दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ समेटिएका छन् । यो गीतमा रोपाईदेखि दशैंतिहारसम्मको परिवेश समेटिएको छ । बसन्त थापाको संगीत र स्वयं उनी र मिना निरौलाको स्वर रहेको यो गीतले नेपाली कलासंस्कृति र जीवन पद्धतिलाई अत्यन्त सजीव औ कलात्मकढंगले दर्शाएको छ ।

व्यवसायिकरुपमा सर्वाधिक सफल दीपकराज गिरी नेतृत्वको छक्कापञ्जा समूहसंगको सहकार्यमा उनले बनाएको छ माया छपक्कै आगामी असोज २४ गते प्रदर्शन हुँदैछ । निर्माण घोषणासंगै चर्चामा रहेको चलचित्र छ माया छपक्कै यो वर्षको सर्वाधिक प्रतिक्षित चलचित्र हो । यो चलचित्रले छक्कापंजा ३ को १९ करोड १० लाखको सर्वाधिक कमाईको रेकर्ड तोड्ने विश्वास गरिएको छ ।

‘चलचित्र राम्रो बनाएका छौं । धेरै मिहेनत गरेका छौं । दर्शकले पक्कै उत्साहजनक साथ दिनुहुनेछ ।’ निर्माता रोहितले बताए । दाङ निवासी रोहित वि.सं. २०६४ मा अध्ययनको सिलसिलामा काठमाडौं छिरेका थिए । सानैदेखि कला क्षेत्रप्रति विशेष रुची राख्ने रोहित प्लस टु सकाएकार फिल्म निर्माण सम्बन्धी अध्ययनका लागि ओस्कार कलेज भर्ना भएका थिए । फिल्म निर्माणमा स्नाकत्तोर सकाएका रोहितले २०७३ मा अनमोल केसी र सृष्टि श्रेष्ठलाई लिएर गाजलु निर्माण गरेका थिए । गाजलु हिट भएपछि उनी एक प्रतिभाशाली, सिर्जनशील औ आशालाग्दो चलचित्रकर्मीको रुपमा देखिए ।

छायांकनकै क्रमममा छ माया छपक्कै १ करोड १६ लाखमा बजगाइँ फिल्मस्का निशान बजगाइँले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेका थिए । यो अहिलेसम्म नेपाली चलचित्रले पाएको सर्वाधिक ठूलो राशी हो । यसबाट पनि छ माया छपक्कैको लोकप्रियता झल्किन्छ । चलचित्र निर्माण सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञानले निपूण रोहित अधिकारी, नेपाली समाजमा मौलाएका बिविध विकृति, विसंगीतीमाथि तिखो प्रहार सहित हाँस्य शैलीका चलचित्र (छक्कापंजा सिरिज) निर्माणमा कीर्तिमानी रेकर्ड बनाएका दीपकराज गिरी र समाजशास्त्रीय कोणबाट नेपाली जीवनपद्धतिलाई सुक्ष्मतम्ढंगले केलाउन सिपालु बौद्धिक÷सिर्जनशील निर्देशक दीपेन्द्र लामाको सहकार्यमा निर्माण भएको छ माया छपक्कैले नेपाली चलचित्र क्षेत्रमा एउटा गजबको आशा संचार गरेको छ र दर्शकहरु प्रारम्भदेखि नै निकै उत्साहित बनेका छन् ।

भाद्र ८ गते छ माया छपक्कैको पहिलो पोष्टर सार्वजनिक गरिएको थियो । चलचित्रका मुख्य अभिनेता दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे र जितु नेपाल समेटिएको पोष्टर निकै सरल, कलात्मक र मौलिक छ । चलनचल्तीका प्रायः चलचित्रहरुको पोष्टरमा देखिने गल्यामर, रहस्य र विभत्सता यो पोष्टरमा भेटिदैन । अभिनेताहरु डोको कुइनो अड्याएर उभिएको र नायिकाले घुम (स्याखु) ओढेको दृश्यले नेपाली जीवन–संस्कृतिलाई झल्काएको छ । पोष्टरले चलचित्रको मौलिकता मात्र होइन यसले नेपाली समाजको समाजशास्त्रीय चित्रण पनि गरेको छनक दिन्छ ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्मित छ माया छपक्कैमा दिपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल र सुपुष्पा भट्टको अभिनय रहेको छ । चलचित्रको कथा दिपकराज गिरीले लेखेका हुन् भने निर्देशन दिपेन्द्र लामाले गरेका हुन् । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले भने यस चलचित्रमा निर्देशन सल्लाहकारको भूमिका निर्वाह गरेकी छिन् । छ माया छपक्क प्रचार अभियानमा व्यस्त निर्माता रोहित केही दिनमै ट्रेलर रिलिजको तयारीमा उत्साहपूर्वक जुटेका छन् ।

Loading...