सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो

दार्चुला, १९ गते । शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकले गत आर्थिक वर्ष २०७५÷७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता अझै पाएका छैनन् । चालू आर्थिक वर्षको दुई महीना बित्नै लाग्दासमेत नगरपालिकाको लापरवाहीले गत वर्षको सामाजिक सुरक्षा भत्ता नपाएका हुन् ।

तेस्रो चौमासिक रकम बैंकमार्फत वितरण गर्ने बताएपछि हालसम्म वृद्धवृद्धाले रकम पाउन सकेका छैनन् । यहाँका नौ वडाका सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रकम नपाउँदा निराश छन् । शैल्यशिखर नगरपालिका–४ रानीशिखरका रामपति भट्ट यसपालिको गौरा निकै खल्लो महसुस भएको बताउछन । गौराका लागि नयाँ लुगा लगाउने सपना पूरा नहुँदा गौराजस्तो चाडमा निराश हुुनुप¥यो उनले भने । नगरपालिकाले हरेक चार महीनामा वितरण गर्दै आइरहेको सामाजिक सुरक्षाभत्ता नपाउँदा नयाँ लुगा किन्ने र गौरा मनाउने सपनामा निराशा छाएको हो ।

शैल्यशिखर नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा लापरवाही गरेपछि यहाँका सामाजिक सुरक्षाभत्ता पाउने ज्येष्ठ नागरिक दलित गैरदलित, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, विधवा महिला, दलित बालबालिका, लोपोन्मुख आदिवासीलगायतले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् । गत आर्थिक वर्ष २०७५÷७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता रकम नपाएपछि भट्टजस्तै शैल्यशिखर नगरपालिकाका झण्डै दुई हजार बढी सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको गौरापर्व निराश भएको छ ।

तेस्रो चौमासिकको भत्तावापतको रकम जेठ या असार महीनामै पाउनुपर्नेमा आर्थिक वर्ष २०७६÷७७ को दुई महीना बित्नै लाग्दा पनि रकम नपाउँदा उनीहरु निराश भएका छन् । सामाजिक सुरक्षा भत्ता पाउँदै आएका स्थानीय गोपी भट्ट भन्छन, “विगतमा गाविस, जिविस हुँदा सहजरूपमा भत्ता पाइन्थ्यो । अहिले झन् सिंहदरबार गाउँमै आएपछि सामाजिक सुरक्षाभत्ता पाउन सकस भएको छ । घरदैलोमा पाइने सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि वृद्धवृद्धा समस्यामा परेका छाँै”, उनले गुनासो गरे ।

“बैंकमै पुग्न गाउँबाट तीन घण्टा लाग्छ, उकालो बाटो छ, बैंक पुगे पनि भनेअनुसार समयमै काम हुँदैन”, भट्टले भने । बुढेसकालमा दस्तखत मिल्दैन, अरुलाई पठाए बैंकले रकम दिन आनाकानी गर्छ उहाँको गुनासो छ । पहिले घरघरमा सामाजिक सुरक्षाभत्ता रकम पाइन्थ्यो, सहज थियो, अहिले त्यही रकम पनि समयमै आउँदैन ।

वडा नं ४ का वडाध्यक्ष देवदत्त भट्ट पनि सामाजिक सुरक्षाभत्ता रकमबारे अनविज्ञ छन् । वृद्धवृद्धाले हामीलाई सामाजिक सुरक्षाभत्ता रकम माग्ने गर्छन्, उनले भने, “तर हामीलाई समेत किन वितरण भइरहेको छैन भन्नेबारे जानकारी छैन । एकले अर्कोलाई दोष देखाउँछन् । सामाजिक सुरक्षा रकम वितरणमा बदमासी गरेको आशङ्का छ”, उनले भने ।

शैल्यशिखर नगरपालिका–८ का वडासचिव मनोरथ जोशी सामाजिक सुरक्षाभत्ता अहिले वृद्धवृद्धाहरुको बैंक खातामा जम्मा भएको जानकारी आएको बताउँछन । भदौ आधा भएपछि उनीहरुको खातामा जम्मा भएको मोबाइलमा म्यासेज पुगेको खबर छ, उनले भने, “किन ढिलाइ भयो भन्नेबारे जानकारी छैन ।

गत आर्थिक वर्षको दोस्रो चौमासिकको अन्तिमदेखि सबै सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि ढिलाइ भएको जनाइएको छ । हामीले समयमै निकासा दिएका हाँै, शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले भने, तर बैंकमा तथ्याङ्क भेरिफिकेसनमा ढिलाइ भयो । गोकुलेश्वरस्थित मेघा बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको हो । बैंकमा कहिले इन्टरनेट कहिले तथ्याङ्क प्रमाणीकरणमा ढिलाइले गर्दा समयमै सामाजिक सुरक्षाभत्ता रकम दिन नसकिएको उनको भनाइ छ ।

अहिले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको उनले जानकारी दिए । नगरपालिकाका वडा नं १, २, ३, ५ र ८ का सेवाग्राहीले सामाजिक सुरक्षाभत्ता रकम पाएका छन् । बाँकी चार वडाका सेवाग्राहीको रकम निकासा भइरहेको बताइएको छ ।

Loading...