शिक्षकलाई यस्तो ‘स्वर्णिम स्वेच्छिक अवकाश’को अफर

हेटौंडा । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरयुक्त र समय सापेक्ष रूपमा अगाडि बढाउने उद्देश्यले मकवानपुरको एक स्थानीय तहले अपडेट हुन नसक्ने पुराना शिक्षकलाई अवकाश दिनका लागि योजना सार्वजनिक गरेको छ ।

थाहा नगरपालिकाले २५ वर्ष स्थायी सेवागरिसकेको शिक्षकका लागि उक्त योजना सार्वजनिक गरेको हो । ‘थाहा नगरपालिकास्थित नगर शिक्षा समितिले पेन्सन पाकेका, अपडेट हुन नसक्ने, अंग्रेजी माध्यममा प्रावि तहका विद्यार्थीलाई पढाउन नसक्ने र प्रविधिमैत्री नभएका शिक्षकहरूलाई अवकाश दिने उद्देश्यले योजना ल्याएको हो,’ नपाका मेयर लवशेर विष्टले भने, ‘लामो अवधिसम्म शिक्षण पेसा गरेर समाजलाई योगदान पुर्‍याउँदै आएका शिक्षकलाई राजीनामा दिनोस् भनेर दबाब दिनुभन्दा सम्मानका साथ अवकाश दिने उद्देश्यले ‘स्वर्णिम स्वेच्छिक अवकाश’ योजनाल्याएको हो ।’

उक्त योजनामा समावेश हुने शिक्षकलाईनगरपालिकाले १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेर अवकाश दिने योजना रहेको थाहा नपाका शिक्षा एकाईका शोभाकर रेग्मीले बताए । योजनाको अवधि एक महिना तोकिएको छ । योजनाअन्तर्गत अवकाश लिने शिक्षकले भदौ १८ सम्म नगर शिक्षा समितिमा निवेदन दिई सक्नुपर्ने उनले बताए ।

अवकाश लिन तोकिएको समयभित्र निवेदन दिएका शिक्षकलाई भदौ २२ मा शिक्षा दिवसको दिन एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेर अवकाश दिने योजना नपाको रहेको छ । उक्त योजनाको न्यूनतम सर्त २५ वर्ष शिक्षण पेसामा स्थायी सेवा गरेको हुनुपर्ने छ ।

थाहा नगरपालिकाभित्रको सामुदायिक स्कुलमा २५ वर्ष स्थायी सेवा गरिसकेका ४४ जना शिक्षक छन् । तीममध्ये माविका २, निमाविका ३ र ३९ जना प्राविका शिक्षक छन् । थाहा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा तल्लो तहदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने र विद्यालयप्रविधिमैत्री बनाउने योजना छ । कान्तिपुरमा खबर छ ।

नपाको उक्त योजना सफल बनाउन र नगरको शैक्षिक गुणस्तर वृद्धि गर्न ‘स्वर्णिम स्वेच्छिक अवकाश’ योजना ल्याएको नपाले जनाएको छ ।

Loading...