नगरवासीलाई कलेजमा ५० प्रतिशत छुट

लमही, १६ भदौ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युटमा नगरभित्रका विद्यार्थीलाई शुल्कमा छुट दिइने भएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुन थालेको कलेजमा यो वर्ष वन विज्ञानको तीनवर्षे कार्यक्रम सञ्चालन हुन थालेको शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले जानकारी दिए ।

“कार्यक्रम सञ्चालनको सबै प्रक्रिया पूरा भएको छ, अब हामीले भर्ना कार्यक्रमलाई अगाडि बढाउन थालेका छौँ”, प्रमुख गौतमले भने ।

उनले अन्य प्राविधिक शिक्षालयभन्दा सहुलियतदरमा विद्यार्थीलाई भर्ना गराउने उद्देश्यले शिक्षालय सञ्चालन गरिएको बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रले यो वर्ष ४० विद्यार्थी अध्यापन गराउने गरी अनुमति प्रदान गरेको छ । कलेजले असोज पहिलो साताबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया अगाडि बढाएको छ ।

त्यस्तै कलेज सञ्चालनको तयारीका लागि सञ्चालक समिति अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बैठक बसेर भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार कलेजमा अध्ययन गर्ने नगरवासीलाई ५० प्रतिशत शैक्षिक शुल्कमा छुट दिइनेछ ।

यसैगरी बैठकले पशुपति मावि हरिपौरीका विद्यार्थी, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शहीद परिवार, द्वन्द्वपीडित, मुक्त कमैया र विभिन्न आन्दोलनका घाइते परिवारका विद्यार्थीलाई पनि छुट दिने निर्णय गरेको छ । कलेज सञ्चालनका लागि वडा नं १२ को हरिपौरीमा सम्पूणै भौतिक संरचना निर्माण भइसकेको छ । पहिलो चरणमा विभिन्न कलेजबाट प्रवेश परीक्षा पास गरेका विद्यार्थीलाई भर्ना गरिने र दोस्रो चरणमा पुनः प्रवेश परीक्षा लिइने पनि कलेजले जानकारी दिएको छ ।

Loading...