नाकासँग जोडिँदै सडक

तुलसीपुर, १४ भदौ । कुनै समय सडक–सञ्जालदेखि टाढा रहेको दाङको सीमानाका पछिल्लो समय सडक सञ्जालले जोडिन थालेको छ । सडक सञ्जाल विस्तार नहुँदा सीमा नाकाले जिल्ला सदरमुकामलाई बिरानो ठान्दै आएको थियो तर अब भने नाका क्षेत्र सडकसँग जोडिन थालेपछि नाकावासी खुशी भएका छन् ।

“पहिले नाका क्षेत्र निकै पिछडिएको थियो, सडक सञ्जालको विस्तार हुन सकेको थिएन”, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले भने, “तर अहिले सडकसँग जोडिन थालेपछि सहज भएको छ ।” अहिले दाङका खङ्ग्रा नाका जोड्ने सडक कालोपत्रे भइरहेको उनको भनाइ छ । लमही नगरपालिका–८ स्थित जहरे दमाराघाटदेखि जग्रहवा हुँदै राजपुर गाउँपालिका–६ स्थित खङ्ग्रा नाका जोड्ने सडक कालोपत्रे भइरहेको गाउँपालिकाका अध्यक्ष केसीले बताए ।

सडकको उत्तरतर्फ २७ लाख ४५ हजार र दक्षिणतर्फ ३३ लाख ५५ हजार गरी ६१ लाखको लागतमा सडक कालोपत्रे गर्न थालिएको हो । अहिलेसम्म सडकको साढे पाँच मिटर चौडाइ र आठ सिसी नाली निर्माण कार्य पूरा भएको छ । उक्त सडक निर्माणको काम प्रतिमा निर्माण सेवाले लिएको अध्यक्ष केसीले बताए ।

राजपुर गाउँपालिका–५ मा ५४५ मिटर हुलाकी सडकको उत्तर, दक्षिण खण्डमा रहेकोे सो सडक कालोपत्रे गर्न प्रदेश नं ५ को भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको ९० लाखको लागतमा निर्माण हुन लागेको हो । यस्तै दाङका अन्य नाकामा पनि सडक निर्माणको काम चलिरहेको छ । दाङका नाका राजपुर गाउँपालिकाभित्र पर्छन् । ती नाकामा सडक विस्तारका लागि प्रक्रिया अघि बढिरहेको गाउँपालिका अध्यक्ष केसीको भनाइ छ ।

उनले नाका क्षेत्रको विकासका लागि सडक सञ्जालको विकासलाई जोड दिइएको बताए । अहिले दाङका २१ नाकामध्ये २१ वटै नाका राजपुर गाउँपालिकामा पर्छन् । कोइलाबास नाका भने गढवामा पर्छ । राजपुरमा पर्ने २१ नाकामध्ये भौवा, पटौली र खङ्ग्रा नाकामा सडक पुगिसकेको छ । त्यस्तै गढवा गाउँपालिकाको कोइलाबास नाकामा पनि सडक सञ्जालको सहज पहुँच पुगिसकेको छ ।

Loading...