सातै प्रदेश र केन्द्र सरकारमा एमालेको पूर्ण बहुमत ल्याउने ओलीको दावी

चितवन, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले २ नं प्रदेशमा पनि एमाले पहिलो हुने बताए ।

भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई धाँधली गरेर हराइएको आरोप लगाए । एमालेविरुद्ध अनेक मोर्चाबन्दी भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता कुनै मोर्चाबन्दीले कुनै असर पार्न नसक्ने बताए ।

उनले विद्यार्थीहरूलाई चुनाव केन्द्रीत एजेण्डामा छलफल गरेर आउँदो निर्वाचनमा जुट्नसमेत निर्देशन दिए ।

एमाले देश बनाउने संकल्पका साथ लागेकाले राष्ट्रिय समृद्धिका लागि एमालेमा समाहित हुन सबैलाई आग्रह गर्नुभयो । अबका निर्वाचनपछि देशमा शान्ति, सुव्यवस्था र अमनचयनसँगै देश समृद्धितर्फ अगाडि बढ्ने भन्दै उनले यो सबैको नेतृत्व एमालेले गर्ने बताए ।

एमाले सहअस्तित्व, सद्भावना र राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै शान्ति विरोधीहरूको प्रतिवादमा पनि पार्टी जुट्ने बताए । सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरूलाई अबिर र माला लगाएर स्वागत गरेका थिए ।

अनेरास्ववियूका अध्यक्ष नवीना लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले नेता रवीन्द्र अधिकारी, जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

तीन दिनसम्म चल्ने बैठकमा देशभरका ५०० प्रतिनिधि, १०० पर्यवेक्षक र १०० स्वयंसेवक सहभागी छन् । सहभागीलाई कार्यकर्ताको घरघरमा राख्ने व्यवस्था गरिएको छ ।

Loading...