प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार

चौतारा, १३ भदौ । सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिए ।

सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी गाउँपालिका–४ र दोलखाको भीमेश्वर नगरपालिका–९ को बीचमा बन्न लागेको उक्त नगरीका लागि आफ्नो पालिकाबाट पनि चालू आर्थिक वर्षमा केही बजेट व्यवस्था गरिने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए ।

नेपाल सरकारले विसं २०६८ मा दोलखाको डाङडुङेमा ‘फिल्मसिटी’ बनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि निकासा हँुदै आएको बजेटबाट गुरुयोजनाअनुसार छ किमी कच्ची सडकसहित भौतिक पूर्वाधारको काम हँुदै आएको छ ।

शुरुमा दोलखा फिल्मसिटी नाम राखिएकामा हालैको निर्णयअनुसार त्यसलाई संशोधन गरी चलचित्र नगरी डाङडुङे नामाकरण गरिएको हो । बहुवर्षीय परियोजनाको रुपमा निर्माण गरिने उक्त नगरीका लागि चालू आर्थिक वर्षमा प्रदेश नं ३ सरकारबाट ५० लाख बजेट विनियोजन भएको छ ।

राष्ट्रियस्तरको बृहत परियोजना भएकाले लगानी जुटाउने उद्देश्यले सांसदहरुको तर्फबाट पनि सहयोग जुटाउन आगामी आइतबार राजधानीमा दुवै जिल्लाका सांसदहरु सहभागी संयुक्त बैठक बोलाइएको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

समुद्री सहतबाट झण्डै तीन हजार ३०० उचाइमा अवस्थित उक्त रमणीय स्थानबाट दोलखाको गौरीशङ्कर, सैलुङ, कालिञ्चोक तथा सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलालगायत अधिकांश भू–भागको दृश्यावलोकन हुनेछ । कूल ७६ रोपनी क्षेत्रमा बन्ने सो नगरीमा अत्याधुनिक स्टुडियो सुविधासम्पन्न विभिन्न भवनहरु कार्यालय भवन, पानी पोखरी, पार्किङस्थल होटललगायत फिल्म सुटिङका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक सुविधा उपलब्ध हुनेछ ।

लामोसाँघु–जिरी सडकअन्तर्गत खरीढुङ्गा सडकमा पर्ने उक्त स्थान काठमाडौँबाट करीब १२० किलोमिटरको दूरीमा पर्दछ । चिसो हावापानी रहेको सो स्थान आसपास सेतो, रातो, पहँेलो, निलोसहित चार रङका लालीगुँरास फुल्ने हँुदा आकर्षित एवं रमणीयस्थलको रुपमा परिचित छ ।

नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्रलाई मानिए पनि तत्कालीन सूचना तथा प्रचार–प्रसार मन्त्रालयले विसं २०२२ मा आमा फिल्मको निर्माण गरी नेपाली फिल्मको शुरुआत गरेको थियो । नेपाली भाषाको विकासका लागि चार दशकअघि तत्कालीन शाही नेपाल चलचित्र संस्थानको स्थापना भएको थियो । पछि चलचित्र विकास बोर्डमा रुपान्तरण भएपछि फिल्म सुटिङका लागि देशका विभिन्न स्थान तथा विदेशमा पनि पुग्नुपर्ने वर्तमान अवस्था छ । त्यसलाई दृष्टिगत गरी जिल्लावासी तथा कलाकारहरुको आग्रहलाई कदर गर्दै नेपाल सरकारले विसं २०६८ मा उक्त स्थानमा आधुनिक फिल्म नगरी निर्माण गर्ने निर्णय गरेको थियो ।

बहुवर्षीय परियोजनाको अवधारणामा निर्माण गरिने उक्त चलचित्र नगरीलाई भविष्यमा ‘पब्लिक पार्टनरसीप’ परियोजनामा परिणत हुने वरिष्ठ कलाकार श्रेष्ठले बताए ।

Loading...