विद्यालय कर्मचारीको तलब साढे १६ हजार, इसिडि शिक्षकको साढे १८ हजार !

काठमाडौं । सरकारले इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई अत्यन्तै न्यून तलव सुविधा दिए पनि केही सामुदायिक विद्यालयहरुले भने उनीहरुको राम्रो व्यवस्थापन गरेको पाइएको छ । काठमाडौं बाफल स्थित ज्ञानोदय माविले निजी स्रोतमै इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई राम्रो सुविधा दिएको हो ।

विद्यालयले इसिडिका शिक्षकहरुलाई १४ हजार पाँचसय मासिक सुविधा दिँदै आएको थियो । गएको महिना देखि स्थायी शिक्षकको तलब बढेपछि विद्यालयले उनीहरुलाई समेत थप २ हजार तलब बढाइदिएको छ । साथै, महंगी भक्ता भनेर मासिक २ हजार दिने गरेको छ । यसरी हेर्दा विद्यालयले इसिडि शिक्षकहरुलाई मासिक १८ हजार पाँचसय तलव सुविधा दिँदै आएको छ ।

यस्तै खाजा, कक्षा शिक्षक, ग्रेड शिक्षकहरुलाई थप भक्ता दिने गरेको छ । यसरी अन्य सुविधाहरु पनि जोड्दा इसिडि शिक्षकहरुले झण्डै मासिक २० हजार तलव सुविधा पाउने गरेका प्रधानाध्यापक नातीकाजी महर्जनले जानकारी दिए ।

विद्यालय कर्मचारीकोको न्यूनतम तलब पहिले १२ हजार पाँचसय रहेकामा स्थायी शिक्षककौ जस्तै विद्यालयले अहिले २ हजार बढाइदिएको छ । र थप महंगी भक्ता २ हजार गरेर मासिक १६ हजार पाँचसय तलव सुविधा बुझ्दै आएका छन् । हाल विद्यालयमा १२ जना इसिडि शिक्षक र ५ जना विद्यालय कर्मचारीहरु कार्यरत रहेका छन् ।

विद्यालयले यो वर्ष स्थायी शिक्षकहरुको तलवसुविधा बढेपछि निजी स्रोतमा काम गर्ने शिक्षक कर्मचारीको तलवमा मासिक २ हजार बढाएको छ । यस्तै २ हजार महंगी भत्ता समेत दिँदै आएको छ । साथै, तलवको ५ प्रतिशत कटाएर त्यसमा विद्यालयले त्यति नै थप गरेर नागरिक लगानी कोषमा जम्मा गरिदिने समेत गर्दै आएको छ । जसले गर्दा उनीहरु विद्यालय छाड्दा उपादान रकम पाउने गर्छन् ।

सरकारले भने इसिडि शिक्षकहरुलाई मासिक ६ हजार र विद्यालय कर्मचारीहरुलाई मासिक २ देखि ११ हजार तलवसुविधा दिँदै आएको छ । यस्तै निजी स्रोतका शिक्षक कर्मचारीहरुलाई विद्यालय पोशाकको लागि समेत ५ हजार दिने गरिएको छ । पाउने विदाको समयमा विद्यालय आउने शिक्षक कर्मचारीहरुलाई समेत थप प्रोत्साहन भक्ताको व्यवस्था गरिने गरिएको छ ।

विद्यालयले २०५२ सालदेखि निरन्तर एसएलसीएसइइ परीक्षामा ९० प्रतिशत भन्दा कम नतिजा कहिल्यै नआएको नातीकाजी महर्जन बताउँछन् । यो वर्षको एसइइमा १०३ विद्यार्थीले ३.६ भन्दा माथिको जिपिए प्राप्त गरेका उनले जानकारी दिए । ११ र १२ को नतिजा पनि उत्तीकै उत्कृष्ट रहेको छ । ११ र १२ मा फेल भएका विद्यार्थी नभएका भन्दै महर्जनले विज्ञान संकायका २ विद्यार्थीले ३.७३ जिपिए ल्याएर उपतयकाका सामुदायिक विद्यालयमै टप गरेका बताए ।

विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षा सम्म २९ सय विद्यार्थी अध्ययनरत् रहेका छन् । ति विद्यार्थीहरुका लागि ति समयमा दैनिक ५९ सेक्सन कक्षा सञ्चालन हुने गरेको छ । कक्षा १० मा मात्रै ५ सेक्सन, ८ र ९ कक्षामा ६–६ सेक्सन पढाइ हुने गरेको छ । ७ कक्षामा पनि ५ सेक्सन, १ देखि ६ कक्षासम्म ३–३ सेक्सन सञ्चालन हुँदै आएको छ ।

नर्सरीकेजी मात्रै हेर्नका लागि इसिडि इन्चार्जको व्यवस्था गरिएको छ । ४ देखि माथि सेक्सनहरु बद्दै गएकाले इन्चार्जहरुले मात्रै व्यवस्थापन गर्न नसक्ने भएकाले ४ देखि १२ कक्षासम्म हरेकमा कक्षा लिडरहरुको व्यवस्था गरिएको छ ।

११ र १२ कक्षामा व्यवस्थापन, विज्ञान र सिभिल इञ्जिनियरिङ को पढाइ हुने गरेको छ । जसमा व्यवस्थापन संकायमा ३ सेक्सन, होटल म्यानेजमेन्ट, कम्प्युटर र विजनेस स्टडिजको । विज्ञानमा वायोलोजी र कम्प्युटर गरी २ सेक्सन छ । सिभलमा ४८ कोटाको एउटा सेक्सन छ । यसरी ११ र १२ कक्षामा मात्रै ४७५ विद्यार्थी अध्ययनरत छन् ।

नर्सरी, केजी, युकेजी गरेर ३ तहको प्रारम्भिक बालविकासको कक्षा सञ्चालन हुँदै आएको छ । जसमा हरेकमा ३–३ गरी दैनिक ९ सेक्सन सञ्चालन हुने गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र र महानगरपालिकाको शिक्षा विभागबाट पनि विद्यालयलाई धेरथोर सहयोग भइरहेको प्रअ महर्जन बताउछन् । सरकारी, गैरसरकारी निकाय, देसी विदेसी व्यक्ति र संस्थाहरुबाट पनि विद्यालयलाई निरन्तर सहयोग मिलिरहेको उनको भनाइ छ ।

Loading...