रविले विरोधीलाई दिए यस्तो चेतावनी, पछाडिबाट ढुङ्गा हान्न छाडेर सक्ने भए अगाडिबाट गोली नै हान्न चुनौती

काठमाण्डु , १० भदौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले रिस साँधेर आरोप लगाउन सजिलो भएको बताउँदै आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिएका छन् ।

मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिएका हुन् । साेही कार्यक्रममा, रविले आफुले पैसा खाएको प्रमाण देखाए पत्रकारीता पेसा छोड्ने बताएका छन् ।आफूले कोही कसैबाट पनि समाचारका लागि पैसा नलिएको पनि दाबी गरेका छन्।

उनले आरोप लगाउनेहरुसँग आफ्नो स्टुडियोमा प्रत्यक्ष बहस गर्न तयार रहेको बताउँदै भने, ‘आरोप लगाउनेहरु मेरो स्टुडियोमा आउनुहोस्, लाइभ बहस गर्न सक्छु । म लगायत मेरो टीमको कसैले पनि कहाँ–कहिले पैसा खायो भनेर प्रमाणित गरिदिनुहोस् । म यो पत्रकारिता जस्तो पवित्र पेसामा बस्दिनँ ।’लामिछानेले आफू २–४ करोड कमाउनका लागि आफ्नो ज्यान हत्केलामा नराखेको पनि जिकिर गरे । ‘पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ,’ उनले भने ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँगको व्यक्तिगत दुश्मिनीबारेको प्रश्नमा उनले श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएको बताउँदै आफ्नो कुनै व्यक्तिगत रिसिइबी नभएको बताए । किशोर श्रेष्ठले आफूलाई पत्रकार होइन भनेको विषयमा उनले चुनौती दिँदै भने, ‘जनताको मुद्दा उठाउँदा पत्रकार भइँदैन भने मलाई पत्रकार बन्नुछैन ।’ त्यस्तै, राजनीतिमा आउने विषयमा लामिछानेले सञ्चारकर्मबाट नै देशमा योगदान पुर्याउने आफ्नो सोच रहेको स्पष्ट पारे ।

लामिछानेले अदालतले केही मुद्दामा चर्चा नगर्न आदेश दिएकाले आफूले त्यसलाई शिरोधार्य गर्दै सम्मानित अदालतको गरिमामा कुनै पनि आँच नआउने गरी अभिव्यक्तिहरु राख्ने स्पष्ट पारे । उनले सीधा कुरा जनतासँगको कार्यक्रम अझ बढी जिम्मेवार र ओझिलो हुनेमा निर्धक्क रहन आग्रह गरे । उनले आफूले पाएको साथ र समर्थनलाई ऋणको रुपमा लिएको बताउँदै उनले भने, ‘यसले हामीलाई निदाउन दिने छैन ।’

सीधा कुरा जनतासँगको कार्यक्रममा आगामी शनिबारदेखि उपस्थित हुने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, ‘यो परिवर्तन पनि हुनसक्छ, टीमसँग छलफल भएको छैन ।’

हेर्नुहोस पूरा भिडियो

Loading...