शालिक मृत्यु प्रकरणमा रविसहित तीनजनामाथि प्रहरीले गरेको अनुसन्धानमा यस्तो भेटियो

काठमाडौं । धेरै मानिसहरुलाई रवि लामिछाने विरुद्ध प्रहरीले गरिरहेको अनुसन्धान कहाँ पुग्यो भन्ने जिज्ञाशा छ । साथै यहाँभित्र के पाक्दैछ भन्ने प्रश्न पनि गर्ने गरिएका छन् । रविको पक्षमा देशविदेशमा उनका समर्थकहरु आक्रोशित भएर प्रतिक्रिया दिने गरेका छन् । के रविमाथि मुलुकी अपराध संहितामा व्यवस्था भएवमोजिम पुग्ने गरी आरोप लाग्ला । के उनी विरुद्ध प्रहरीले पुग्ने प्रमाण जुटाउला त ? के उनी सोही वमोजिम जेल नै जालान त ? यस्ता केही थुप्रै जिज्ञासाहरु छन् ।

यस्तै प्रश्न, आशंका, जिज्ञाशाबीच प्रहरीले शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामो अनुसन्धान गरी चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । हत्या हो या आत्महत्या भन्ने प्रश्ना समेत गरिएको अनुसन्धानमा अन्ततः प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को सहयोगमा १० दिन लामो अनुसन्धान गरिएको हो । १० दिनको अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो ।

प्रहरीले मुद्दा दर्ता गरे लगत्तैदेखि जिल्ला अदालतले उनीहरुको बयान लिन सुरु गरेको छ । आइतबार उनीहरुमाथि मुद्दा दर्ता भए पछि सुरु गरिएको बयान एक जनाको मात्र सकिएको छ । अभियुक्त अस्मिता भनिने रुकु कार्कीको वयान मात्र आइतबार सकिएको हो । रवि लामिछाने र युवराज कँडेलको बयान भने आइतबार भएन । उनीहरुको बयान सोमबार हुने बताइएको छ ।

उनीहरुको बयान नभएकाले अदालतले सोमवार बिहान १० बजे उपस्थित गराउने गरी तीनैजनालाई प्रहरी हिरासतमा पठाएको थियो । तीनैजनाको वयान सकिएपछि थुनछेक बहस हुने बताइएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनको मुद्दामा दोषी ठहर भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

प्रहरीले गरेको अनुसन्धानमा यस्तो भेटियो ?

प्रहरीले लामिछानेसहित तीनजनालाई दुई ५/५ दिन म्यान थप गरेर अनुसन्धान गरेको थियो । यसक्रममा पुडासैनीको मोबाइलमा बरामद भएको भिडियो क्लीपमा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्टले देखाएको छ ।

अनुसन्धानलाई सघाउन चितवन पुगेका सीआईबीका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भने, ‘बरामद भिडियोमा ट्याम्परिङ (छेडछाड) भएको छ/छैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको थियो । ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ ।’

रेग्मीका अनुसार भिडियोबाहेक थप प्रमाण संकलन भएको छ, जसबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ । अनुसन्धानका क्रममा प्रहरीले मृतक पुडासैनी र आत्महत्या दुत्साहनको आरोपमा लागेका ३ जनाको डिजिटल कनेक्सन खोतलेको थियो । लामिछाने, कँडेल र कार्कीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), लोकेशन लगायतका विषय केलाएको थियो ।

तीनजनाको वयान पनि लिएको छ । त्यसक्रममा लामिछाने र कार्कीको वयान बाझिएको अनुसन्धान अधिकृत बताउँछन् । रविले यसअघि आफूले अस्मितालाई नचिनेको दाबी गरेका छन् भने अस्मिताले भने पुरानो चिनजान भएको बताएकी छन् ।

त्यसैगरी पुडासैनीको आत्महत्यालगत्तै लामिछाने र कँडेल कार्यरत संस्था न्यूज २४ टेलिभिजनले पनि अस्मितालाई पटक-पटक सम्पर्क गरेको पनि देखिएको छ ।

प्रमाणका रुपमा प्रहरीले यस्ता कुरा पेश गरेको छ

सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेका सबुद प्रमाणहरुमा न्युज २४ टीभीबाट प्राप्त सीसी टीभी फुटेजको हार्ड ड्राइभसमेत पेश गरेको छ । त्यसैगरी रवि लामिछानेसहित तीनैजना प्रतिवादीहरुको मोवाइल फोन पनि अदालतमा पेश गरिएको छ ।

त्यसैगरी मृतक शालिकराम पुडासैनीले प्रयोग गरेको सामसुङ ग्यालेक्सी जी–एस मोबाइल, डोरी खरिद गरेको पसलको सीसी क्यामेरा फुटेज, र पुडासैनीले आफ्नो मोबाइलमा खिचेको भिडयो लगायतका सामाग्रीहरु संकलन गरिएको ६४ जीबीको पेनड्राइभ अदालतमा पेश गरिएको छ ।

अदालतमा पेश गरिएको पेन ड्राइभभित्र रवि लामिछाने, रुकु भनिने अस्मिता कार्की र युवराज कँडेलको मोबाइलको सीडीआर, एसएमएस र बीटीएस को रिपोर्ट समावेश भएको डीभीडी पनि समावेश गरिएको छ ।

टेलिभिजन प्रस्तोता लामिछाने पक्राउ गरेसँगै उनको समर्थनमा चितवनमा प्रदर्शन हुँदै आएको छ । आइतबार थुनछेक बहस हुने अनुमानका साथ सयौंको संख्यामा मानिसहरु प्रहरी कार्यालय र भरतपुरको चौबीसकोठीमा भेला भएर नाराबाजी गरेका छन् । लामिछाने निर्दोष भएकाले रिहा गर्नुपर्ने उनीहरुको माग छ । प्रदर्शनका क्रममा सामान्य झडपसमेत भएको छ । चितवन बाहेक काठमाडौंलगायतका केही शहरमा पनि लामिछानेका समर्थकले प्रदर्शन गर्दै आएका छन् ।

Loading...