विश्वविद्यालयमा उपकुलपति चयनमा अझै अन्यौल, ‘सर्च कमिटी’को म्याद थपियो

काठमाडौं । उपकुलपति चयनमा सरकारलाई सकस परेको छ । उपकुलपति छनोट गर्न ‘सर्च कमिटी’ असफल भएपछि तत्कालका लागि कुलपति रिक्त भएका विश्वविद्यालयहरुमा कायम मुकायम उपकुलपति तोकिएको छ ।

उपकुलपति चयनका लागि गठित सर्च कमिटी को बिहिवार बैठक बसेर प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई नामावली सिफारिश गर्ने तयारी गरेपनि ठोस निर्णय हुन नसकेपछि उक्त कमिटीको कार्यावधि यही भदौ २० गतेसम्मका लागि थप गरिउको छ ।

यसअघि उपकुलपति छनोट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा डिल्लीराज शर्मा र कमल गुरागाईं सदस्य रहेको सर्च कमिटी गठन गरिएको थियो ।

यसैगरी, पूर्वाञ्चल, संस्कृत र कृषि विश्वविद्यालयका उपकुलपति छनोटका लागि पनि मन्त्री पोखरेलको संयोजकत्वमा योजना आयोगकी सदस्य उषा झा र शिक्षा सचिव महेश दाहाल सदस्य रहेको सर्च कमिटि गठन गरिएको छ ।

विश्वविद्यालयका उपकुलपतिहरुको समय सकिएकाले कुलपति एवं प्रधानमन्त्री, सहकुलपति एवं शिक्षामन्त्रीसहितको बैठकले कामु उपकुलपति तोकेको छ । कुलपछि छान्न सकस परेपछि तत्कालका लागि कामु उपकुलपति तोकिएको हो ।

बैठकले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । जस अनुसार त्रिविमा सुधा त्रिपाठी, पूर्वाञ्चलमा विजुकुमार थपलिया, नेसंविमा रमेश ढकाल र कृषि तथा वनमा शारदा थपलियालाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

Loading...