भोलि सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।

यसैगरी सुदूर पश्चिम प्रदेश सरकारले सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरामा भोलि शुक्रवार सार्वजनिक बिदा दिएको छ । शुक्रवार सुदूर पश्चिम प्रदेश भरी लागू हुने गरी गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको सुदूर पश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

भाद्र शुक्लको षष्ठी देखी अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर गौरा पर्व मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा बिरुडा अर्थात् पाँचथरका गेडागुडी भिजाउने गर्छन् ।

गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुल देवता प्रसन्न हुने जनविश्वास छ ।

 

Loading...