त्रिवि भिजन उपलब्धि: उपकुलपति खनियाँ

काठमाडौँ, ५ भदौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताए । उनको कार्यकाल भोलि शुक्रबारदेखि सकिदैछ ।

त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि भिजन २०२०–२०३०’ जारी गरेको थियो । डा खनियाँले जारी गरेको विज्ञप्तिमा भूकम्पले अधिकांश भौतिक संरचना ध्वस्त बनाएको र अस्थायी शिक्षक आन्दोलनमा रहेका समस्यामा आफूले जिम्मेवारी लिएको र हाल पुनःनिर्माण र शिक्षक व्यवस्थापनका कार्य सम्पन्न भएको जिकिर गरे। डा खनियाँ २०७२ भदौ ७ गते नियुक्त भएका थिए ।

त्रिविलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न त्रिवि गुणस्तर प्रमाणीकरण तथा प्रत्यायन केन्द्र स्थापना गरी क्याम्पस तथा केन्द्रीय विभागलाई केन्द्रको प्रमाणपत्र लिने प्रावधान राखिएको तथा केन्द्रीय क्याम्पस, कीर्तिपुरमा मात्र लागु गरिएको स्नातकोत्तर तहको सेमेस्टर प्रणाली उपत्यका हुँदै मुलुकभरका क्याम्पसमा विस्तार गरिएको उनले जानकारी दिए ।

आफ्नो कार्यकालमा परीक्षालाई व्यवस्थित गर्न परीक्षा नियन्त्रण कार्यालयमा नयाँ सफ्टवयर प्रयोगमा ल्याई तीनदेखि पाँच महीनाभित्रै नतिजा प्रकाशन गर्ने तथा व्यवस्थापन सङ्कायअन्तर्गत डीनको कार्यालयबाट सञ्चालित परीक्षाको साढे दुई महीनामा नै नतिजा प्रकाशन गर्ने र ट्रान्सक्रिप्ट २४ घण्टाभित्र दिने प्रक्रिया शुरु भएको खनियाँको भनाइ छ ।

यस अवधिमा त्रिवि ‘टाइम्स हाइयर एजुकेसन’ ले गरेको विश्वविद्यालयस्तर निर्धारणमा संसारभरिका २५ हजारमध्ये त्रिवि ८०१ देखि एक हजारसम्म र एशियाका २५१ देखि ३०० विश्वविद्यालयमा पर्न सफल भएको छ ।

पछिल्लो समयमा त्रिविको लोकसेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयमा भएका अनियमितताका सम्बन्धमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइरहेको छ ।

Loading...