सत्तारुढ नेकपाले गर्यो भिम रावल, जनार्दनसहित ७ नेताहरुमाथि कारवाही

काठमाडौं, ४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका सात जना नेतामाथि कारवाहीको प्रक्रिया थालेको छ । पार्टीका विरुद्ध नै बोल्दै हिडन थालेको भन्दै उनीहरुमाथि कारवाहीको प्रक्रिया थालनी भएको हो ।

यसरी कारवाहीको प्रक्रियामा पर्नेहरुमा पार्टीको स्थायी समिति सदस्यदेखि केन्द्रीय सदस्यसम्म रहेका छन् । उनीहरुले पार्टीको नीति विपरीत सरकार र पार्टीकै नेतृत्वका विरुद्ध सार्वजनिक रुपमा नै आलोचना गर्ने गालीगलौज गर्ने गरेको पाइएकोले कारवाहीको प्रक्रिया अगाडि बढाउनु परेको स्रोतले दावी गरेको छ ।

कारवाहीको प्रक्रियामा पर्ने नेताहरुमा पूर्व मन्त्री तथा स्थायी समिति सदस्यद्वय भीम रावल र जनार्दन शर्मा छन् । त्यसैगरी नेताहरु जगन्नाथ खतिवडा, सूर्य थापा, रामप्रसाद सापकोटा ‘दिपशिखा’, मेटमणि चौधरी पनि कारवाहीको प्रक्रियामा परेका छन् ।

उनीहरु सबैलाई अहिलेका लागि पहिलो चरणमा स्पष्टिकरण सोध्ने बताइएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सातै नेतालाई स्पष्टिकरण सोध्न महासचिव बिष्णु पौडेललाई निर्देशन गरिसकेको स्रोतले जानकारी दिएको छ । त्यसमध्ये अरु ६ जनालाई मौखिक स्पष्टीकरण सोध्ने एकजनालाई भने लिखित स्पष्टिकरण नै सोध्ने तयारी भइरहेको बताइएको छ । यसरी लिखित स्पष्टिकरण सोधिनेमा परेका छन नेता मेटमणि चौधरी । मेटमणिले गुठी विधेयकको विवादका क्रममा पार्टीकै विरुद्ध जथाभावी बोलेको नेकपाका नेताहरुको दावी छ ।

पूर्वमन्त्री भीम रावलले विभिन्न प्रकरणमा सरकारको आलोचना गरिरहेको, जनार्दन शर्माले कुमार पौडेल ‘इन्काउन्टर’ र लोक सेवा आयोग विज्ञापनमा सरकारविरुद्ध बोलेको, सूर्य थापा र दिपशिखाले सामाजिक सञ्जालमा आरोप प्रत्यारोप गरेको विषयमा स्पष्टिकरण सोधिने भएको बताइन्छ । नेकपाकै नेताले पार्टी नेतृत्व र सरकारविरुद्ध जथाभावी बोल्दा नकारात्मक सन्देश गएको भन्दै विवादमा मुछिएका सबैलाई स्पष्टीकरण सोधिएको जनाइएको छ ।

पार्टीको अनुशासन नमानेको आरोप समेत लागेका नेताहरूले दिएको स्पष्टीकरण महासचिव पौडेलले अध्यक्षद्वय समक्ष पेश गर्ने र स्पष्टीकरणका आधारमा कारवाही प्रक्रिया अगाडि बढ्ने नेकपा स्रोतले जनाएको छ ।

तत्काली नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेपछि पार्टीभित्र अनुशासन कायम गर्न पार्टी नेतृत्व निर्मम ढंगले अगाडि बढेको स्रोतको दाबी छ। एकीकरण प्रक्रिया विलम्ब हुँदा पार्टी संगठन भद्रगोल भएको भन्दै नेतृत्वको आलोचना समेत हुने गरेको छ ।

Loading...