रविलाई हिरासतमा अझै केही दिन बढी राख्ने र अनुसन्धान लम्बिनुको यस्तो छ खास कारण

पोस्टमार्टम र विधिविज्ञान प्रयोगशालाको रिपोर्ट जुधेपछि पुडासैनी मृत्युको अनुसन्धान झनै लम्बियो

काठमाडौं, ४ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेलाई पक्राउ गरिए पनि उनलाई अदालतले सुरुकै दिन धरौटीमा रिहा गर्ने धेरैको अपेक्षा थियो । रवि आफैले आफूमाथि गलत आरोप लगाइएको भए पनि शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न आफुले प्रहरीलाई सहयोग गर्ने बताएका पनि थिए । तर, रविलाई धेरैको अनुमान र अपेक्षा विपरित अदालते १० दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । प्रहरीले गरिरहेको अनुसन्धान हेर्दा अझै केही दिन म्याद थपेर राख्ने सम्भावना देखिन्छ ।

स्रोतका अनुसार रविमाथिको अनुसन्धान लम्बिनुमा एक प्रमुख कारण रहेको छ प्रहरीको विधिविज्ञान प्रयोगशालामा भइरहेको अध्ययन । नारायणगढको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका रविका पूर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनीसँग भेटिएका सामानको यतिखेर प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा अध्ययन भइरहेको छ । उनको पोष्टमार्टम रिपोर्ट भने आइसकेको छ । तर, मृत शरिरका साथमा भेटिएका अन्य सामानहरुको जाँच भइरहेको विधिविज्ञान प्रयोगशालाबाट भने अहिलेसम्म कुनै रिपोर्ट आउन सकेको छैन । सोही कारण रवि माथिको अनुसन्धान अझै नसकिएको प्रहरीले बताउँदै आएको छ र चितवन जिल्ला अदालतमा सरकारी वकिल मार्फत म्याद थप गराउन माग गर्दै आएको छ । यसक्रममा पहिलो पटक १० दिन र पछिल्लो पटक पनि १० दिन म्याद थप्न माग गरे पनि प्रहरीले दुबै पटक पाँच पाँच पटक गरी १० दिन म्याद थप गरेको छ । तर, अझै पनि त्यो रिपोर्ट आउन समय लाग्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाले रिपोर्ट ढिला दिनुमा अन्य कारण भने होइन । विधिविज्ञान प्रयोगशालामा पुगेको सबै सामानहरुको जाँच गर्दा त्यसको रिपोर्ट र पोष्टमार्टमको रिपोर्टमा फरक फरक देखिएको स्रोतको दावी छ । त्यसरी फरक फरक तथ्य देखिएपछि विज्ञहरुले त्यसलाई दोहोर्याइ तेहेर्याइ जाँच गर्ने गरेका छन् । जसले गर्दा त्यसको समय बढी लागेको स्रोतको दावी छ । यसरी हेर्दा जाँच अझै केही दिन लम्बिने देखिएको छ । प्रयोगशालाकै जाँच नसकिएपछि उता रविलाई दोस्रो पटक थपिएको म्याद पनि गुज्रेर फेरि म्याद थपाउन सक्ने देखिएको बताइन्छ ।

Loading...