रविलाई पक्राउन लाग्ने जनआस्थाका सम्पादक श्रेष्ठ, एसपी मल्लविरुद्ध जाहेरी दिन पुगेकी रवि पत्नी निकिताको मुद्दा नै दर्ता गर्न मानेन प्रहरीले

काठमाडौं, ४ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्ना पतिलाई गिरफ्तार गराउन बाध्य पार्ने तीन जनाका विरुद्ध मुद्दा हाल्न गरेको प्रयास असफल भएको छ । बुधवार दिउसो जिल्ला प्रहरी कार्यालय काठमाडौंमा गएकी पौडेलको जाहेरी प्रहरीले दर्ता गर्न नै अस्वीकार गरेको हो ।

सिधा कुरा जनतासँग कार्यक्रममा रविसँगै काम गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन गएकी थिइन । बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी उनलाई प्रहरीले यो केश आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै फर्काएको हो ।

निकिता रविका दाजु हरिशरण लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइसँगै प्रहरी परिसर पुगेकी थिइन । त्यहाँ उनीहरुले जाहेरीका विषयमा प्रहरी उपरीक्षक अशोक सिंहसँग आधा घण्टा छलफल समेत गरेका थिए । उक्त छलफलमा सहभागी प्रहरी उपरिक्षक सिंहले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको जानकारी दिएका थिए । निकिता पौडेलसँग गएका अधिवक्ता राजेन्द्र सेढाईले भने प्रहरी उजुरी दर्ता गर्न नमानेको जानकारी दिए । सेढाईले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न गएको तर प्रहरीले उजुरी नै लिन नमानेको बताए । प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकिता जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्न गएको बताइएको छ ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Loading...