रवि लामिछानेसँग लिइयो पाँच घन्टा बयान, अस्मिताका लागि भने कोही बहस गर्न तयार भएनन

यस्तो देखियाे पुडासैनीकाे पोस्टमार्टम रिपोर्टमा

चितवन, ४ भदौ । चितवनको एक होटेलमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेकी अस्मिता कार्की रुक्कुको पक्षमा बहस गर्न कोही पनि कानुन व्यवसायी तयार नभएको थाहा भएको छ ।

मृतक पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियोमा लगाएको आरोपका आधारमा यतिबेला न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता तथा चर्चित पत्रकार रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । उनीहरुलाई जिल्ला अदालत चितवनले पहिलो पटक पाँच दिन र फेरि दोस्रो पटक पनि पाँच दिन गरी १० दिन म्याद थप गरिसकेको छ । उनीहरुमाथि मृतक पुडासैनीकी श्रीमती सम्झनाले किटानी जाहेरी समेत हालेकी छन् । मंगलबार दोस्रो पटक अदालतमा पेश गरिएका तीनै जनालाई जिल्ला अदालतले फेरि ५ दिनको म्याद थप गरेको थियो ।

चितवन अदालतमा रवि लामिछानेसँग पाँच घन्टा बयान लिइएको थियो । सोमबार र मंगलबार गरी उनीसँग पाँच घन्टा बयान लिइएको हो । यो मुद्दामा प्रतिवादी रवि लामिछाने र युवराज कँडेलको तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका थिए । बहसका क्रममा उनीहरुले प्रहरीसँग मात्रै भएको भनिएको भिडियो कसरी मिडियामा गयो भनी छानबिनका लागि माग गरेका थिए । दिउँसो २ बजेर २० मिनेट जाँदा सुरू भएको म्याद थप बहस ४ बजेर ३० मिनेटमा सकिएको थियो । म्याद थपकै बहसमा एक–एक घन्टा लामो बहस पन्त र पोखरेलले गरेका थिए ।

रवि र युवराजको पक्षमा पूर्वमहान्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताले वकालत गरे पनि अस्मिताको पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ ।

मंगलबार म्याद थपका लागि भएको बहसमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले बोलेका थिए । उनले तीन जनामाथि अनुसन्धान गर्नुपर्ने आधार र कारण खुलाउँदै थप १० दिनको समय माग गरेका थिए । तर, जिल्ला अदालत चितवनले भने पाँच दिनको समय मात्र दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता प्रकाश थापाले अनुसन्धान नसकिएकाले थप समय माग भएअनुसार पाँच दिन पुनः थप भएको जानकारी दिए ।

यसअघि गत साउन ३० गतेबाट लागू हुने गरी पहिलोपटक पाँच दिनको म्याद थप भएकोमा भदौ २ गते म्याद सकिएपछि हिजो ३ गते पुनः म्याद थपका लागि अदालतमा पेश भएको थियो । रविका पक्षमा म्याद थपका लागि पहिलो दिन अदालत लैजाने क्रममा सयौँ समर्थक जम्मा भए पनि दोस्रोपटकको म्याद थपमा भने निकै कम समर्थक देखिएका थिए।

यस्तो आयो पोस्टमार्टम रिपोर्ट

होटलमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्टमा उनले ‘झुन्डिएर आत्महत्या’ गरेको उल्लेख गरिएको थाहा भएको छ । सामाजिक सञ्जालमा पुडासैनीको आत्महत्या नभएको भन्दै अनेक टिप्पणी भइरहँदा पोस्टमार्टम रिपोर्टमा भने यो आत्महत्या नै भएको किटान गएिको छ । त्यसैगरी मृत्युअघि रेकर्ड गरिएको भिडियो फरेन्सिक ल्याब परीक्षणबाट मृतक शालिकरामकै आवाज भएको पुष्टि भएको बताइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले प्राप्त प्रमाणहरुलाई अध्ययन अनुसन्धान गरिरहेको छ ।

Loading...