फोटोसपमा इडिट गरी पुडासैनीको आँखामा होटल सञ्चालकको छायाँ, यसरी लागेको छ एक समूह भाइरल कन्टेन्ट बनाउन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासँगै सामाजिक सञ्जालमा विभिन्न खालका टिका टिप्पणी र अफवाहहरु फैलिरहेका छन् । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन प्रस्तोता रवी लामिछाने, सहयोगी युवराज कँडेल र नर्स अस्मिता कार्की(रुकू) यतिखेर चितवन प्रहरीको हिरासतमा छन् ।

पुडासैनी भरतपुरको पोखरा बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यस लगत्तै प्रहरीले पुडासैनीको मोवाइलमा भेटिएको भिडियोलाई अनुसन्धान गरिरहेको छ ।

अहिले भने सामाजिक सञ्जालहरुमा सोही भिडियोलाई आधार मानी एउटा तस्विर भाइरल गरिएको छ । पुडासैनीको मृत्युअघिको भिडियोबाट स्क्रिनसर्ट लिइएको फोटोमा उनको आँखा देखिन्छ र आँखाको नानीमा कंगारु होटलकै सञ्चालकको प्रतिछायाँ बनाएर रविका समर्थकहरुले युट्युवदेखि सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् ।

यसबारेमा कान्तिपुरले लेखेकाे छ: रविका समर्थकहरुले प्रविधिकाे दुरुपयाेग गरेर सामाजिक सञ्जाल तताइरहेका छन् । मनोरम जोशी नाम गरेका एक व्यक्ति चर्चित फेसबुक पेज ‘मेन्स रुम रिलोडेड’ (एमआरआर) का सुदूरपश्चिम प्रतिनिधि हुन् । एक लाख सदस्य भएको यो फेसबुक पेजका सदस्यहरू विपदका बेला, सामाजिक काममा र कहिलेकाहीं न्यायपूर्ण अभियानमा सक्रिय देखिन्छन् । यही पेजले हो झन्डै एक वर्षअघि निर्मला पन्तको बलात्कार र हत्यापछि ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने स्लोगनको पोस्टर डिजाइन गरेको ।

निर्मलाको स्केचसहितको पोस्टर डिजाइन गरेर यही समूहका सदस्यले प्रिन्ट गर्न चाहनेहरूलाई सफ्ट कपी उपलब्ध गराएका थिए । ग्रुपकै केही सदस्यले त्यस्तो पोस्टर रातभर काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रका सार्वजनिक स्थानमा टाँसेका थिए । मनोरमले झन्डै ७ महिनाअघि होलीको बेला एउटा तस्बिर यही पेजमा पोस्ट गरेका थिए ।

फागुले रंगीन भएको एमआरआर लेखिएको सेतो टिर्सट पहिरेको र कालो चस्मा लगाएको, कुनै फुटबल खेलाडी झैं उफ्रिएको मनोरमको फोटो फेसबुकमा धेरैले मन पराए । केही दिनअघि मनोरमलाई एउटा तस्बिर ट्याग गरिएको थियो ।

जसमा पत्रकार पुडासैनीले आत्महत्याअघि खिचेको भिडियोबाट स्क्रिनसट लिइएको क्लोज अप तस्बिर थियो । अनि त्यही तस्बिरको आँखाको नानीमा मनोरमको फागुको तस्बिर धमिलो बनाएर राखिएको थियो । सामाजिक काम र न्यायपूर्ण अभियानका निम्ति सक्रिय फेसबुक पेजमा एमआरआर ग्रुपकै कुनै सदस्यले यस्तो तस्बिर पोस्ट गरेका थिए ।

पत्रकार आत्महत्याका कारण र सञ्चारकर्मी लामिछाने पक्राउ प्रकरण गर्माइरहेको बेला पुडासैनीको आँखाको नानीमा कसैको प्रतिछाया देखिनु आफैंमा कौतूहलको विषय थियो ।फोटोसपका माध्यमबाट मनोरमको तस्बिर मृतक पत्रकारको आँखाको नानीमा राखेको र उक्त तस्बिर के–के नै भेटियो जस्तो गरेर एमआरआर पेजमा पोस्ट भएपछि अफवाह फैलिने भन्दै पेजमा सक्रिय साथीहरूले उक्त पोस्ट डिलिट गरिदिए ।

एमआरआर एडमिनका एक सदस्य विक्रम केसीले आफूहरूले उक्त पोस्ट एक घण्टाभित्रै डिलिट गरेको तर अरू कसैले कपी गरेपछि बाहिर फैलिएको बताए । ‘एकजना साथीले कसरी विभिन्न घटनामा सामान्य मानिस आफैं अनुसन्धानकर्मी बन्न खोजेजस्तो गर्छ, आफैंले सत्य पहिल्याएजस्तो गर्छ भन्नेबारे व्यंग्य गर्न त्यस्तो पोस्ट गरेका थिए,’ उनले भने, ‘तर त्यसले अर्कै अर्थ लगाउला कि भनेर हामीले डिलिट गरिहाल्यौं ।’

डिलिट गरिए पनि उक्त तस्बिर सामाजिक सञ्जालमा फैलिसकेको थियो । कमल चालिसे नामका फेसबुक प्रयोगकर्ताले सोही तस्बिर मेन्स एन्ड वमेन्स रुम रिलोडेड नामक फेसबुक पेजमा राख्दै यति प्रमाण भए पुग्छ कि अरू चाहियो भनेर लेखिसकेका थिए । उनी जस्तै सयौंले सोही फोटोलाई सेयर गर्दै पत्रकारको हत्यारा आँखाका नानीमा देखिएको भन्दै आ–आफ्नो धारणा फैलाइसकेका थिए ।

केही सामाजिक सञ्जालका प्रयोगकर्ताले उक्त तस्बिर वास्तविक नरहेको लेखे पनि त्यसको भने उत्तिकै सेयर भएन । ‘यही हो हाम्रो समाज, आज बिहान यो फोटो एमआरआरमा कसले मजाकमा हालेको थियो,’ किरन तिमल्सेनाले फेसबुकमा लेखेका थिए, ‘बाहिर समाजले भ्रामक प्रमाणका रूपमा प्रयोग गरिरहेछ ।’

किरन जस्ता वहकाउमा नलाग्ने फेसबुक प्रयोगकर्ताले तस्बिर असत्य रहेकोबताइरहँदा उक्त तस्बिर सामाजिक सञ्जालभरि फैलिएर युट्युबमा यसैमा आधारित भिडियोहरू देखिन थालिसकेका थिए ।

कसरी मृतक पुडासैनीको आँखाको नानीमा प्रतिछाया भएको तस्बिर देखियो र त्यसैमा आधारित भएर सामाजिक सञ्जालमा टिप्पणीहरू आए भन्नेबारे प्रहरी प्रधान कार्यालयले पनि खोजी गरिरहेको छ ।

हालसम्मका खोजले फोटोसपबाट चलाइएको तस्बिरलाई सही ठानेर सामाजिक सञ्जालमा अनेकन क्रिया–प्रतिक्रिया आइरहेका र तिनैलाई हजारौं–लाखौं सदस्य तथा सब्सक्राइबर रहेका फेसबुक पेज र युट्युब च्यानलहरूले फैलाइरहेका छन् ।

सञ्चारकर्मी लामिछानेको फ्यान भन्दै खुलेका दर्जनभन्दा बढी फेसबुक पेजमा त कैयन्ले आँखाका नानीमा देखिएको मान्छे पत्रकार बसेकै होटलको कर्मचारी वा मालिक भन्ने दाबीसमेत गरेका छन् ।

Loading...